जिल बाइडेनका पूर्वपतिमाथि हत्या अभियोग

वासिङ्टन, २१ माघ (रासस/एएफपी) ।

पूर्व प्रथम महिला जिल बाइडेनका पूर्वपतिमाथि आफ्नी वर्तमान पत्नीको हत्याको अभियोग लगाइएको छ । डिसेम्बरमा डेलावेयरस्थित आफ्नै घरमा पत्नीको हत्या भएको आरोपमा उहाँलाई पक्राउ गरिएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।

सतहत्तर वर्षीय विलियम स्टिभेन्सनले सन् १९७० देखि सन् १९७५ सम्म, सम्बन्धविच्छेद नहुञ्जेल, जिल बाइडेनसँग विवाह गर्नुभएको थियो । त्यसपछि जिल बाइडेनले सन् १९७७ मा पूर्वराष्ट्रपति जो बाइडेनसँग विवाह गर्नुभएको थियो ।

डेलावेयरको न्यू क्यासल काउन्टी प्रहरीका अनुसार डिसेम्बर २८ मा आफ्नी ६४ वर्षीया पत्नी लिन्डा स्टिभेन्सनको मृत्यु भएको घटनासम्बन्धी अनुसन्धानपछि विलियम स्टिभेन्सनमाथि पहिलो दर्जाको हत्या अभियोग लगाइएको हो ।

उहाँलाई सोमबार पक्राउ गरिएको थियो । पाँच लाख अमेरिकी डलर नगद जमानत बुझाउन असफल भएपछि उहाँ हाल हिरासतमा रहनुभएको छ ।

प्रहरीका अनुसार डिसेम्बरमा राति करिब ११ बजेपछि विलमिङ्टनस्थित दम्पतीको घरमा घरेलु विवाद भएको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बैठक कोठामा लिन्डा स्टिभेन्सन अचेत अवस्थामा फेला पर्नुभएको थियो ।

प्रहरीले जीवन बचाउने प्रयास गरे पनि ती प्रयास सफल हुन सकेनन् । पछि उहाँलाई मृत घोषित गरिएको थियो ।

मङ्गलबार अधिकारीहरूले लिन्डा स्टिभेन्सनको मृत्युको ठ्याक्कै कारण सार्वजनिक गरेका छैनन् । साथै, अनुसन्धानबारे थप विवरण पनि प्रदान गरिएको छैन ।

लिन्डा स्टिभेन्सनलाई पारिवारिक जीवनप्रति गहिरो समर्पित व्यक्तिका रूपमा सम्झिएको उहाँको शोक सन्देशमा उल्लेख गरिएको छ । विशेष गरी आफ्नी छोरी र नातिनीसँग बिताएका पारिवारिक बिदाका क्षणहरू उहाँका लागि अत्यन्त महत्त्वपूर्ण रहेको जनाइएको छ ।

उहाँ फिलाडेल्फिया इगल्स टोलीकी समर्थक रहनुभएको थियो । साथै, हालै आफ्नै लेखा सेवा व्यवसाय सञ्चालन गरिरहनुभएको थियो ।

शोक सन्देशमा लिन्डालाई दृढ, दयालु र अत्यन्त निष्ठावान व्यक्तित्वका रूपमा स्मरण गरिने उल्लेख गरिएको छ । उहाँको शक्ति, सहनशीलता र परिवार तथा साथीहरूप्रतिको अटुट प्रेम कहिल्यै नबिर्सिने बताइएको छ । उहाँको निधनले उहाँलाई चिन्ने सबैमा गहिरो शोक छाएको जनाइएको छ ।

जिल बाइडेनका पूर्वपतिमाथि हत्या अभियोग

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५

जिल बाइडेनका पूर्वपतिमाथि हत्या अभियोग

सम्पादकीय : पुरा नहुने चुनावी नारा !

Leave a comment

Your email address will not be published. Required fields are marked *