पहिरोले लुम्बिनी–रारा राजमार्ग अवरुद्ध, कुशे जाने–आउने यातायात ठप्प

जाजरकोट ,१६ भदौ ।
शनिबार रातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा ठूलो पहिरो खस्दा लुम्बिनी–रारा राजमार्ग अवरुद्ध भएको छ। सडक माथिबाट खसेको ठूलो पहिरोले राजमार्ग पूर्ण रूपमा बन्द भएपछि यातायात सेवा प्रभावित भएको हो।
राजमार्ग अवरुद्ध हुँदा रिसाङ हुँदै कुशे गाउँपालिकातर्फ जाने तथा आउने सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक बन्द भएपछि यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा सास्ती भएको छ। दैनिक कामका लागि सदरमुकाम खलंगा आवतजावत गर्नुपर्ने स्थानीयसमेत जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
स्थानीय बिर्खबहादुर कार्कीका अनुसार पहिरो ठूलो भएकाले तत्काल सडक खुलाउन कठिन देखिएको छ। वर्षा अझै भइरहेकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको उनले बताए।
गत साउन ३० गते पनि सोही क्षेत्र आसपासमा ठूलो पहिरो गएको थियो। लगातारको वर्षासँगै पटक–पटक पहिरो खस्न थालेपछि यस क्षेत्रमा सडक यातायात थप जोखिमपूर्ण बन्दै गएको स्थानीयको भनाइ छ।
अवरुद्ध राजमार्ग खुलाउन आवश्यक पहल भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। उनका अनुसार सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
राजमार्ग अवरुद्ध हुँदा कुशे गाउँपालिकासहित ग्रामीण क्षेत्रबाट सदरमुकाम खलंगा आवतजावत गर्ने यात्रु बढी प्रभावित भएका छन्। लामो समयसम्म सडक सञ्चालनमा आउन नसके दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीको आवतजावत तथा अन्य अत्यावश्यक सेवासमेत प्रभावित हुन सक्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन्।





