सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ ,१६ साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उहाँले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो ।

पूर्वी तथा मध्य तराईका जिल्लामा धार्मिक सद्भावमा खलल पुग्नेगरी भएका पछिल्ला घटनाक्रमपछि शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले यस्ता घटना दोहोरिन नदिन सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचना र उत्तेजनात्मक सामग्री नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकले पूर्वी तथा मध्य तराईका जिल्लामा धार्मिक सद्भावमा खलल पुग्ने घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनी प्रदेशभित्र सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न सबै राजनीतिक दल, स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, धार्मिक अगुवा, नागरिक समाज, सञ्चार क्षेत्र र आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नियमित गस्ती तथा पेट्रोलिङ बढाउने, सद्भाव प्रवद्र्धनका लागि संवाद र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वय गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै टिकटक, फेसबुक, युट्युब, ह्वाट्सएप, टेलिग्राम लगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा जातीय सद्भाव भड्काउने, अफवाह फैलाउने तथा उत्तेजना सिर्जना गर्ने सामग्री प्रसारण नगर्न र आधिकारिक तथा सत्यतथ्य सूचना मात्रै सम्प्रेषण गर्न आमसमुदायलाई अनुरोध गरिएको छ । बैठकले धार्मिक दृष्टिले संवेदनशील मानिएका बाँके र कपिलवस्तु जिल्लामा जिल्ला सुरक्षा समितिसँग समन्वय गरी सबै सरोकारवालाको सहभागितामा संवाद, अन्तरक्रिया र सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिर, युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे, राप्रपा संसदीय दलका नेता आशिष चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपाका प्रतिनिधि, विश्व हिन्दु महासंघ, इस्लामिक समुदायका मौलाना तथा विभिन्न धार्मिक र नागरिक अगुवाको सहभागिता रहेको थियो ।

सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन

सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह

सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *