कालीकोट साक्षर जिल्ला घोषित, ९५ प्रतिशत नागरिक साक्षर

गोल्डेन बुढा

जुम्ला,९ असोज।

‘साक्षरता नेपाल अभियान, हामी नेपालीको पहिचान’ भन्ने नाराका साथ कालीकोट जिल्ला बिहीबार साक्षर जिल्ला घोषणा गरिएको छ। यससँगै कालीकोट कर्णाली प्रदेशको ९ औं तथा देशको ६८ औं साक्षर जिल्ला बनेको हो।जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहीको अध्यक्षता र संविधानसभा सदस्य तुलाराज विष्टको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रममा कालीकोटका सबै ९ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, शैक्षिक सरोकारवाला, शिक्षक, अभिभावक तथा बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो।शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईंका अनुसार, अघिल्लो असार मसान्तसम्म जिल्लाका सबै स्थानीय तह साक्षर पालिका घोषणासँगै कालीकोटलाई साक्षर जिल्ला घोषणा गर्ने पूर्वतयारी पूरा भइसकेको थियो।पलाता गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गालाल न्यौपानेले जिल्लामा १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भइसकेको जानकारी दिए। “कागजमा जनसंख्याभन्दा बढी साक्षर देखिन्छ,” उनले भने, “तर व्यवहारमा सबैलाई पूर्ण साक्षर बनाउने चुनौती भने अझै बाँकी छ।

”कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलका अनुसार, जिल्लामा विगतदेखि नै साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका थिए। “बर्सेनि चलाइएका साक्षरता कक्षाहरूले मापदण्डअनुसारको लक्ष्य हासिल गर्न मद्दत गरेको हो,” उनले भने।शिक्षा मन्त्रालयले साक्षरताका लागि १२ वटा सूचक तोकेको छ, जसअनुसार कम्तीमा ५० प्रतिशत सूचक पूरा गर्न सकेमा साक्षर मानिन्छ। ती सूचकहरूमा नेपाली वा मातृभाषामा अक्षर चिन्ने, नाम–उमेर लेख्न सक्ने, मोबाइल र क्यालकुलेटर चलाउन सक्ने, सामान्य अंकगणना गर्न सक्ने, लेनदेनको हिसाब राख्न सक्ने, ट्राफिक संकेत चिन्ने, घडी हेरेर समय बताउन सक्ने, चेक भर्न सक्ने आदि समावेश छन्।

सरकारले २०७१ सालदेखि सघन साक्षरता कार्यक्रममार्फत ‘साक्षर नेपाल अभियान’ सञ्चालन गर्दै आएको छ। शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर हालसम्म ६८ जिल्ला साक्षर घोषित भइसकेका छन्।साक्षरता घोषणासँगै कालीकोटले शैक्षिक रूपान्तरणतर्फ महत्वपूर्ण फड्को मारेको छ। अबको चुनौती भनेको ‘कागजको साक्षरताबाट व्यवहारिक साक्षरतातर्फ’ समाजलाई उन्मुख गराउनु हो।

कालीकोट साक्षर जिल्ला घोषित, ९५ प्रतिशत नागरिक साक्षर

जुम्लामा मार्सीको महक:समृद्धिको सन्देश

कालीकोट साक्षर जिल्ला घोषित, ९५ प्रतिशत नागरिक साक्षर

‘संविधान पक्षधरहरुबीच एकता र आत्मसमिक्षा जरुरी छ’

Leave a comment

Your email address will not be published. Required fields are marked *