जुम्लामा मार्सीको महक:समृद्धिको सन्देश

गोल्डेन बुढा

जुम्ला,९ असोज ।
यतिबेला चिसो हावा चलेको छ। आकाश निलो र चिसो छ, तर जमिनमा भने सुनौलो रङको लहरहरू छरिएको छ। यो लहर धानको हो, त्यो पनि जुम्ली मार्सी धानको।असोज लागेसँगै जुम्लाका बाली पाक्न थालेका छन्। विशेष गरी यहाँ उत्पादन हुने काली जातको जुम्ली मार्सी धान अहिले लहलह बालीसाथ झुकेर काट्ने बेला कुरिरहेको छ।

टाढाबाट हेर्दा खेतहरू सुनले छपक्कै ढाकिएको जस्तो देखिन्छ। स्थानीय किसानहरूका अनुहारमा अब यो बाली भित्र्याउने उत्साह र खुशी स्पष्ट झल्किएको छ।जुम्ली मार्सी केवल एउटा धान मात्र होइन , यो जुम्लाको इतिहास हो, संस्कृति हो, पहिचान हो। सयौं वर्षअघि काठमाडौंबाट राणा र शाहका शासकहरूले यही जुम्ली धान मगाउने गर्थे भन्ने किंवदन्ती छ। त्यो बेला यति दुर्गम ठाउँबाट चामल मगाउनु केवल खानकै लागि थिएन, त्यो ‘स्वाद’ को पहिचान थियो।आज पनि यो चामललाई ‘मूल्यवान’ मानिन्छ।

स्वास्थ्यका दृष्टिकोणले भरपूर गुणयुक्त मार्सी चामल मधुमेहका बिरामीहरूका लागि समेत उपयोगी मानिन्छ।यता कृषि विकास कार्यालय जुम्लाकाे तथ्यांकअनुसार चालु आर्थिक वर्ष २८१/०८२ मा जुम्लाकाे २ हजार ८ सय ५० हेक्टरमा धान खेती भइरहेको छ।भने,५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन हुन्छ । त्यसमध्ये धेरैजसो मार्सी धान नै फल्ने गरेको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लामा चन्दननाथ १, चन्दननाथ ३ स्थानीय धान खेती हुन्छ।जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान यतिबेला खेतमा पाक्न थालेको देखिन्छ। जसमध्ये अधिकांश उत्पादन मार्सी जातकै हुन्छ। तर यति मात्रामा उत्पादन हुँदासमेत स्थानीय खपतपछिको बाँकी चामल देशका विभिन्न सहरमा पठाइन्छ, जहाँ यो प्रिमियम मूल्यमा बिक्री हुन्छ।तर, उत्पादनमा आत्मनिर्भर भए पनि संरक्षण र प्रवर्द्धनमा भने जुम्ली किसानहरू एक्लिएका छन्।”जुम्ली मार्सी धान संरक्षणको जिम्मा स्थानीय तहले मात्र लिन सक्दैन। प्रदेश र संघीय सरकारले गम्भीर ध्यान दिनुपर्छ,” जुम्लाका स्थानीय किसान राजु थापाले भने।पछिल्लो समय जुम्ला आउने आन्तरिक पर्यटकहरूका लागि पनि मार्सी धान आकर्षण बन्न थालेको छ। धेरैजसो पर्यटकहरू ‘मार्सी चामल नलिई फर्किँदैनौँ’ भन्ने सोचसहित आउँछन्। चामलको प्याकेजिङ्गदेखि प्रचारसम्मका नयाँ उपायहरू यहाँ सुरु हुन थालेका छन्, जुन कृषि पर्यटनको सम्भावनातर्फको सकारात्मक संकेत हो।जुम्ली मार्सी धान जोगाउन, प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न सकिने प्रचुर सम्भावना हुँदाहुँदै पनि सरकारी तहबाट खासै पहल भएको देखिँदैन। न किसानको बीउ, मल, प्रविधिमा पहुँच छ; न भण्डारण, प्रशोधन र ढुवानीमा सुविधा।”हामी आफैं बाली रोप्छौं, काट्छौं, थन्क्याउँछौं अनि आफैं बजारसम्म बोक्छौं। तर मूल्य भने थोरैले पाइन्छ,” किसान रमा उपाध्यायले गुनासो गरिन्।जुम्ली मार्सी धान नेपालको हिमाली क्षेत्रमै मात्र फल्ने दुर्लभ प्रजातिको धान हो।

यसको बीउ पनि स्थानीय जातको हो, जसमा रासायनिक मल र विषादीको प्रयोग अत्यन्त न्यून हुन्छ। यसले गर्दा यो चामल ‘अर्ग्यानिक’ मानिन्छ।कृषिविज्ञहरू भन्छन्, “यदि जुम्ली मार्सीको वैज्ञानिक संरक्षण, प्रजनन, मूल्यवृद्धि र बजारीकरण गरियो, भने यो धान नेपालका लागि अन्तर्राष्ट्रिय पहिचान बनिन सक्छ।”देशका अधिकांश कृषि पेसा छोड्दै अन्यत्र जान थालेका बेलामा, जुम्लामा अझै पनि बिउँ साँचेर, अर्गानिक बाली लगाएर, ऐतिहासिक चामल उत्पादन गर्ने किसानहरू छन्। उनीहरूको पसिनाले धान सुनजस्तै चम्किएको छ।

जुम्लामा मार्सीको महक:समृद्धिको सन्देश

कालीकोट साक्षर जिल्ला घोषित, ९५ प्रतिशत नागरिक

Leave a comment

Your email address will not be published. Required fields are marked *