कर्णाली प्रज्ञा प्रतिष्ठान बन्ने

सुर्खेत । कर्णालीको भाषा, साहित्य, कला तथा संस्कृतिको अध्ययन अनुसन्धान र संरक्षण गर्न कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी गठन हुने भएको छ । नेपाली भाषाको उद्गमस्थानको रुपमा रहेको जुम्ला जिल्लाको सिंजामा खस भाषा र संस्कृतिसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गर्नका लागि प्रज्ञा प्रतिष्ठानको गठन हुने भएको हो ।
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८१÷८२ कार्यक्रम प्रगति समीक्षा गोष्ठीमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रज्ञा प्रतिष्ठान बनाउनका लागि काम अघि बढेको बताएका हुन् ।
आर्थिक वर्ष २०८१÷०८२ मा आवश्यक बजेट विनियोजन व्यवस्था भएको र कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा भै स्वीकृतको क्रममा रहेको मन्त्री घनश्याम भण्डारीले बताए ।
‘संवैधानिक अधिकार प्राप्त भए पनि अझै कर्णाली प्रदेशमा प्रज्ञा–प्रतिष्ठान गठन हुन सकेको छैन,’ उनले भने,‘कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने र कर्णालीको संस्कृति संरक्षणका लागि सांस्कृतिक नीति निर्माण गर्ने र प्रतिष्ठानको संरचना तय गर्ने उद्देश्यले राखिएको छ ।’
खस भाषाको उद्गमस्थल कर्णाली प्रदेशको मौलिकता हराउँदै गएको र पुरातात्विक महत्त्वका सम्पदा, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न, खोज अनुसन्धान गर्न प्रतिष्ठान स्थापना हुनु अनिवार्य भएको मन्त्री भण्डारीले बताए ।
‘कर्णाली सभ्यताको इतिहास लेखन त्यसका भाषा,साहित्य ,संस्कृति, मानवशास्त्र र दर्शनआदि विविध पाटाहरुको अन्वेषण गरी इतिहास लेख्न, लेखाउन, नयाँ पिँढीलाई प्रेरित र प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ,’ उनले भने,‘कर्णालीको भाषा, कला र संस्कृतिको अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक रहेको छ ।’





