खेलकुदले मानिसलाई शारीरिक, मानसिक र आर्थिक रूपमा सक्षम बनाउँछ’ :सामाजिक विकास मन्त्री तिमिल्सिना
बाँके ४,जेष्ठ ।
नेपालगञ्जको विशालचोक खेल मैदानमा भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा अन्तर वडा स्तरीय प्रथम प्रदेश सभा सदस्य कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले भने, ‘खेलले शारीरिक एवम् मानसिक रुपमा स्वस्थ बनाउँछ नै, यसले आर्थिक रुपमा समेत सवल बनाउन मद्दत गर्दछ।’ उनले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा आर्थिक उपार्जनमा समेत टेवा पुग्ने धारणा राखे।
प्रतियोगिताको औपचारिक उद्घाटन मन्त्री तिमिल्सिनाले ब्याटिङ्ग गरेर र प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलिङ्ग गरेर गर्नुभएको हो। प्रतियोगिता प्रदेश सभा सदस्य अम्बिका काफ्लेले विनियोजन गरेको संसद विकास कोष (क्षेत्र विकास कोष) को बजेटबाट सञ्चालन गरिएको हो।

सो अवसरमा प्रदेश सभा सदस्य अम्बिका काफ्लेले खेल क्षेत्रको विकासले सामाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा योगदान गर्ने बताउँदै नेपालगञ्जलाई क्रिकेटको उर्वर भूमि भएको उल्लेख गरिन्। उनले खेलकुदलाई आर्थिक पाटोसँग पनि जोड्नुपर्ने आवश्यकता औंल्याइन्।
१६ टिमको सहभागिता रहेको प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन समारोहमा आयोजक भेरी रकर्स स्पोट्र्स क्लबका अध्यक्ष मोहम्मद साजिद खानले प्रतियोगिताले नयाँ प्रतिभा जन्माउने विश्वास व्यक्त गरे। उनले क्लबले प्रत्येक वर्ष क्रिकेटको विकासका लागि प्रतियोगिता गर्दै आएको जानकारी गराए।