बाँकेमा मदन भण्डारी स्मृति दिवसको अवसरमा अन्तरसंवाद : “बहुदलिय जनवाद सुदृढ बनाउन उत्तरदायी सञ्चार अपरिहार्य”
बाँके,४ जेष्ठ ।
“जनताको बहुदलिय जनवाद सुदृढ बनाउन स्वतन्त्र, उत्तरदायी र जनमुखी सञ्चार माध्यमहरूको सशक्त उपस्थिति अपरिहार्य छ,” नेकपा (एमाले) स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभएको छ।
पूर्व महासचिव स्व. जननेता मदन भण्डारी तथा स्व. नेता जिवराज आश्रितको स्मृति दिवसको अवसरमा आयोजित ‘जनताको बहुदलिय जनवाद र सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले वर्तमान डिजिटल युगमा सञ्चारको भूमिकाले अझ गहिरो प्रभाव पारिरहेको उल्लेख गर्नुभयो।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा र प्रेस चौतारी बाँके जिल्ला कमिटीको समन्वयमा आज जनताको बहुदलिय जनवाद र सञ्चारको अन्तर्सम्बन्धबारे बहस चलाएको हो।
कार्यक्रममा एमाले बाँकेका निवर्तमान उपाध्यक्ष डिल्लि विसिले विषयमा कार्यपत्र प्रस्तुत गर्दै बहुदलिय जनवादको सैद्धान्तिक जग, सञ्चारको वर्तमान अवस्था र राजनीतिक चेतना विस्तारमा सञ्चारको योगदानबारे प्रशिक्षणमूलक विश्लेषण प्रस्तुत गर्नुभयो।
विभिन्न तहका नेताहरू, सञ्चारकर्मी, बुद्धिजीवी, राजनीतिक विश्लेषक तथा युवा वर्गको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले जननेता मदन भण्डारीको दृष्टिकोणमा सञ्चारको भूमिका कसरी निर्णायक रहँदै आएको थियो भन्नेबारे धारणा राखे।

वक्ताहरूले वर्तमान सामाजिक सञ्जालको प्रभावमाथि पनि गम्भीर बहस गर्नुपर्ने आवश्यकता औँल्याउँदै, सूचना प्रवाहमा सत्यता, जिम्मेवारी र सार्वजनिक हितको प्रत्याभूति गरिने माध्यमहरूलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रम प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शुभाखर पन्थीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगिले कार्यक्रमको सहजीकरण गरेका थिए भने प्रदेश कोषाध्यक्ष विनोद भट्टराईले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा नेकपा (एमाले) बाँके अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई, प्रेस चौतारीका केन्द्रीय सदस्यहरू विष्णु प्रसाद वेल्वासे, सकिल अहमद कादरी, भेषराज बस्नेत, गणेश आचार्य, लुम्बिनी प्रदेश इञ्चार्ज टिका बस्नेत, पूर्व उपाध्यक्षहरू शिव डोटेल र कृष्ण अधिकारी, पूर्व कोषाध्यक्ष अछरी पोख्रेल, पूर्व जिल्ला अध्यक्षहरू झलक गैरे, हेमन्त विक, बर्दिया अध्यक्ष यज्ञ सापकोटा, कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाललगायत ८० भन्दा बढी चौतारीकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजक लुम्बिनी प्रदेश कमिटीका अनुसार यस्तो बहसले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म विचार र संवादको संस्कृतिलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।