भ्यान दुर्घटना चालकसहित दुई जना गम्भीर घाइते

गाेल्डेन बुढा
जुम्ला,१ जेष्ठ
जुम्लामा भ्यान दुर्घटना हुदा चालक सहित दुई जना गम्भीर घाइते भएका छन्।बुधबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो। नाग्मा बजारदेखि जुम्ला बजार आउने क्रममा भ्यान दुर्घटना भएको थियो। कर्णाली राजमार्ग अन्तर्गतको जुम्लाको तिला गाउँपालिका -१ मा पर्ने गाडगाेडेनी भन्ने ठाउँमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीले बताए।
क १ ज ३७ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ। भ्यान अनियन्त्रित भइ सडकबाट करिव २ मिटर तल तिला नदिमा खसेको थियो।घाइते हुनेमा जुम्लाको तातोपानी गाउँपालिका -५ लाम्रा गाउँका अन्दाजी २० वर्षिया चालक दिनेश नेपाली र जुम्लाको हिमा गाउँपालिका -६ पाथरखाेला गाउँका -५५ वर्षका धनराज अधिकारी हुन्।
घाइतेहरुलाई प्रहरी चौकी रारालिहि जुम्लाबाट प्रहरी सहायक निरिक्षक थुम बहादुर घर्तिमगरको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले उद्वार गरेको हो। गम्भीर घाइते चालक नेपाली र अधिकारीकाे जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।






