कर्णाली प्रदेशमा टेबल टेनिसको अवस्था


अहिले तत्काल टेबल टेनिसलाई एउटा हलको आवश्यकता छ । त्यसका लागि खेलाडीहरुले पहल गरिरहेका छन् । यदि हलको व्यवस्थापन भएन भने खेलाडीहरु आन्दोलन गरेर भए पनि हल ल्याउने प्रयासमा रहेको बताउँन् ।

२०४३ सालमा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा टेबल टेनिसको राष्ट्रिय प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको थियो । प्रतियोगिता जिल्ला विकास समितिको हल र शिक्षा शाखाको हलमा दुईवटा बोर्ड राखेर सम्पन्न गरिएको थियो । प्रतियोगिताको आयोजनामा चन्द्र शाह सदस्य सचिवको रूपमा सक्रिय थिए । यो प्रतियोगिता ३८ वर्ष अगाडि सम्पन्न भएको ऐतिहासिक खेलकुद गतिविधि हो ।

अखिल नेपाल टेबल टेनिसका केन्द्रीय अध्यक्ष बृजेन्द्र हमालका अनुसार, त्यसबेला प्रतियोगिताको तयारीमा म आफैं उपस्थित थिए । गोवर्धन खड्का जस्ता उत्कृष्ट खेलाडीले त्यो समयमा प्रतिस्पर्धा गरेका थिए । हमालले त्यो प्रतियोगिता उत्कृष्ट रूपमा सम्पन्न भएको र कुनै विवाद उत्पन्न नभएको जानकारी दिए । उनका अनुसार, प्रतिकूल अवस्थाहरू सामना गर्दै पनि खेल राम्रोसँग सम्पन्न गर्न सफल भएका थिए ।

हाल राष्ट्रिय खेलकुद परिषद्ले आगामी प्रतियोगिताका लागि आवश्यक तयारी गरिरहेको छ । “हाम्रो प्रतियोगिता सल्यानमा राखेको भनेर निर्णय गरेको भन्ने सुन्नमा आएको छ । त्यसो हो भने सल्यानमा पनि पूर्वाधार हेर्छौ ? हामी छिट्टै नै सल्यान र सुर्खेत गएर यस विषयमा छिट्टै मोटामोटी निर्णय गरेर टुङ्ग्याउने छौँ ।”
अध्यक्ष हमालले दशौं राष्ट्रिय खेलकुदलाई खेलाडीहरूको लागि एउटा “महान पर्व” भन्दै यसको सफलता सुनिश्चित गर्न सबै तयारी गरिने बताए । सल्यान र सुर्खेत दुवै स्थानमा निरीक्षणपछि अन्तिम निर्णय गरिनेछ, हमालले थपे । यो ऐतिहासिक खेलकुद प्रतियोगिताले क्षेत्रीय खेल विकासमा विगतमा पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।

अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघका अनुसार, टेबल टेनिस हलको लागि न्यूनतम आयामहरू निम्न छन्ः
लम्बाइः १४ मिटर (४५.९ फिट) चौडाइः ७ मिटर (२३.० फिट) उचाइः ५ मिटर (१६.४ फिट) यी मापदण्ड पूरा हुने स्थान चयन गर्न परिषद् सचेत रहेको छ ।

“टेबल टेनिस खेल संघर्षरत र चुनौतीपूर्ण छ”

कर्णाली प्रदेशको पछाडि परेको अवस्था केवल शिक्षा, स्वास्थ्य र विकासमा मात्र सीमित छैन, खेल क्षेत्र पनि यसको उदाहरण हो । गहतराजका अनुसार, कर्णाली प्रदेशमा १० जिल्लाहरू पर्छन्, जहाँ अधिकांश राष्ट्रिय खेलहरू खेलिने अवस्था नै छैन । यद्यपि, यस माटोले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम उचाल्ने खेलाडीहरू जन्माएको छ । तर, उनीहरूको संघर्ष लामो र चुनौतीपूर्ण छ ।
गहतराजले भने, “कर्णालीमा खेल क्षेत्रको विकास राजनीतिक भागबण्डाले थिचिएको छ । कोच, अध्यक्ष, सदस्य सचिवलगायतका पदहरू पार्टीगत हिसाबले वितरण गरिन्छ, जसले समग्र खेल क्षेत्रलाई कमजोर बनाएको छ ।”

उनका अनुसार, २०४३ सालमा सुर्खेतमा सम्पन्न नेसनल गेमपछि पनि खेल क्षेत्र प्राथमिकतामा परेन । अहिले ९ औं राष्ट्रिय खेलकुदपछि कर्णालीलाई दशौं राष्ट्रिय खेल आयोजना गर्ने जिम्मेवारी दिइएको छ, जसले केही आशा पलाएको छ ।
कर्णाली प्रदेशका सदस्य सचिवले नमुना रंगशाला बनाउन प्रयास गरे पनि खेलाडी विकासमा ध्यान केन्द्रित हुन नसकेको गहतराजको धारणा छ ।

“खेलाडी नभए, केवल ढुंगा, गिट्टी, बालुवाले खेल सम्भव हुँदैन । खेलाडी तयार गर्न पूर्वाधार मात्र पर्याप्त छैन,” उनले जोड दिए । गहतराजका अनुसार, कर्णालीका खेलाडीहरू अरू प्रदेशका खेलाडीहरूको तुलनामा केवल १०% क्षमतामा छन्, जसले पूर्वाधार र प्रोत्साहनको अभावलाई स्पष्ट पार्छ । जिल्ला र प्रदेश खेलकुद परिषदलाई धेरै चोटी आग्रह गर्दा पनि एउटा खेल्ने हल पाउन नसकेको अवस्था छ ।

अहिले त जिल्ला र प्रदेश खेलकुद परिषदका अध्यक्ष र सदस्य सचिवले फोन उठाउन नि छोड्नु भयो यसरी कर्णालीमा खेलको विकाश हुन सक्दैन । माननीय मुख्यमन्त्री र मन्त्री ज्युहरु आउने रंगशालामा फोटो खिच्ने र जाने काम मात्र भएको छ ।

कर्णालीमा कति खेल खेलिन्छ र कहाँ खेलिन्छ र त्यसको प्रगती के भाराको छ भन्नेमा पनि उनीहरु दुविधामा छन् । अहिले तत्काल टेबल टेनिसलाई एउटा हलको आवश्यकता छ र हामी त्यसका लागि पहल गरिरहेका छौ त्यस्तै परे हामी खेलाडीहरु आन्दोलन गरेर भए पनि हल ल्याउने प्रयास गर्छौ ।

उनले खेल क्षेत्रलाई राजनीतिकरणबाट अलग राख्दै खेलाडी विकास र पूर्वाधार विस्तारलाई प्राथमिकता दिन सरकार र सरोकारवालालाई आग्रह गरेका छन् । “यदि खेल क्षेत्रलाई दिगो विकासतर्फ लैजान चाहन्छौं भने, खेलाडी र प्रशिक्षकहरूको वास्तविक क्षमतामा आधारित नीति निर्माण अपरिहार्य छ,” गहतराजले थपे ।

कर्णाली प्रदेश टेबल टेनिस सचिव तथा कोच हिम्मत मल्लले प्रदेशमा टेबल टेनिस खेलको अभ्यास र तयारीका लागि आवश्यक पूर्वाधारको अभाव रहेको बताएका छन् । उनले भने, “माथिल्लो तलाको हल टेबल टेनिसका लागि भनेर बनाइएको हो, तर अहिले त्यहाँ तेक्वान्दो र कराते खेल सञ्चालन भइरहेको छ । यस्तै, हालै बनेको रंगशालाको हल पनि तेक्वान्दो र करातेलाई दिइएको भन्ने छ । हामीले टेबल टेनिसका लागि हल उपलब्ध गराउन अनुरोध गरेका छौं, तर हालसम्म उपलब्ध गराइएको भने छैन ।”

कोच मल्लका अनुसार दशौँ राष्ट्रिय खेलकुदका लागि तयारी गर्न स्थान अभावका कारण चुनौतीपूर्ण बनेको छ । “टेबल टेनिस खेल्न मापदण्डअनुसारको हल आवश्यक पर्छ । तर, यहाँको सटर कोठामा खेल्नुपरेको छ । खेल मापदण्डअनुसारको स्थानमा मात्र खेलिन्छ । बाध्यताले सटर कोठामा अभ्यास गरे पनि यो समाधान होइन,” उनले थपे ।

मल्लले महिनौँदेखि हलको माग गर्दै आए पनि अहिलेसम्म कुनै ठोस समाधान नआएको उल्लेख गर्दै भने, “१०–१५ दिनमा हल उपलब्ध गराइने आश्वासन दिइन्छ, तर कहिलेसम्म पाउने हो थाहा छैन । पूर्वाधार नभएसम्म खेलको प्रगति असम्भव छ ।

म.प विश्वविद्यालय उप–प्राध्यापक तथा कर्णाली प्रदेशका टेबल टेनिस राष्ट्रिय खेलाडी धीरेन्द्रमान थापाले प्रदेशमा टेबल टेनिस खेलको विकास र व्यवस्थापनमा निकै ठूलो अभाव रहेको गुनासो गरेका छन् ।
थापाले भने, “राष्ट्रिय खेलमा म यसअघि तीनपटक खेलेको छु, र यो पटक चौथोपटक सहभागी हुँदैछु । मेरो छोरीले पनि यो वर्ष कर्णालीबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्नेछिन् । उनले भर्खरै पोखरामा खेलेकी थिइन् । तर कर्णालीमा टेबल टेनिस खेलका लागि कुनै व्यवस्था भने छैन ।”

थापाले कर्णालीमा टेबल टेनिस खेल चिनाउन धेरै मेहनत गरे पनि राम्रो पूर्वाधार, प्रशिक्षक, र खेल सामग्रीको अभावले खेलाडीहरूलाई समस्या परिरहेको बताए । “हामीसँग राम्रो कोठा छैन, मापदण्डअनुसार बल छैन, र राष्ट्रिय स्तरका प्रशिक्षक पनि छैनन् । कोचबिनाको ट्रेनिङ कसरी प्रभावकारी हुन्छ?” थापाले भने ।

एक शिक्षक भए पनि खेलमा ठूलो रुचि भएका थापाले प्रदेश सरकार र सम्बन्धित निकायहरूले खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । “राम्रो प्रशिक्षक भएको भए हामीलाई प्रशिक्षणमा धेरै सहज हुने थियो । तर हाल कुनै सल्लाह, सुझाव दिने, र अन्य आवश्यक कुरा सिकाउने व्यवस्था छैन । यो अवस्थामा पनि खेलाडीहरू खेलमा टिक्न संघर्ष गरिरहेका छन्,” उनले बताए ।

कर्णाली प्रदेशमा टेबल टेनिसको अवस्था

हिउँ कुर्दै जुम्लाका किसान सुके गहुँ र

कर्णाली प्रदेशमा टेबल टेनिसको अवस्था

जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको