सात वर्षपछि पनि अधुरा गाउँका अस्पताल शिलान्यासमै सीमित 

गोल्डेन बुढा

जुम्ला ,१४ बैशाख ।

संघीय सरकारले ग्रामीण भेगमै आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले अघि सारेको अस्पताल निर्माण योजना जुम्लामा भने वर्षौंदेखि कागजमै सीमित जस्तै बनेको छ । शिलान्यास भएको सात वर्ष बितिसक्दा पनि कनकासुन्दरी र तिला गाउँपालिकामा अस्पताल भवन निर्माण पूरा नहुँदा स्थानीयवासी अझै सामान्य उपचारका लागि समेत सदरमुकाम खलंगा पुग्न बाध्य छन् ।जुम्लाको कनकासुन्दरी गाउँपालिकामा तत्कालीन अध्यक्ष नरबीर रावतले २०७७ मंसिरमा १५ बेडको अस्पताल भवनको शिलान्यास गरेका थिए । कनकासुन्दरी–५ हाटसिंजामा निर्माणाधीन भवनका लागि २२ जना स्थानीयले ३ हजार ५ सय वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराए । स्थानीयको अपेक्षा थियो। गाउँमै अस्पताल बन्छ, उपचार सहज हुन्छ । तर सात वर्ष बित्दासमेत भवन पूरा नहुँदा त्यो अपेक्षा निराशामा बदलिएको छ ।भवन निर्माणका लागि १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि टिडीआर लक्ष्मी मजदुर निर्माण सेवाले पेस्की लिएर कामलाई गति दिन सकेन । स्थानीयका अनुसार निर्माण व्यवसायीको लापरवाही र गाउँपालिकाको प्रभावकारी अनुगमन अभावले अस्पताल भवन लामो समय अलपत्र रह्यो ।अस्पताल निर्माणका लागि प्राविधिक सहयोग सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले गरेको थियो । तर सुरुमा ठेकेदारले १ करोड २८ लाख रुपैयाँ पेस्की लिएर काम छाडेपछि निर्माण प्रक्रिया ठप्प जस्तै बनेको थियो । पहिलो रनिङ बिलअन्तर्गत १ करोड ४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ भने दोस्रो रनिङ बिल ५५ लाख रुपैयाँको भुक्तानी प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ ।कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीका अनुसार अहिले निर्माण कार्यले केही गति लिएको छ । ठेकेदार कम्पनी लामो समय सम्पर्कविहीन बनेको अवस्थामा जुम्लाका अर्जुनसिंह कठायतले कामको जिम्मा लिएपछि निर्माण फेरि अघि बढेको हो । गाउँपालिकाले म्याद थप गरेर कामलाई तीव्र बनाइएको जनाएको छ ।यस्तै, २०७७ मंसिर २१ मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले तिला गाउँपालिकाको ३ कुडारीमा १० बेडको अस्पताल भवनको शिलान्यास गरेका थिए । २०७९ माघसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि भवन अझै तयार हुन सकेको छैन । संघीय सरकारको १२ करोड रुपैयाँ लागतमा निर्माण थालिएको अस्पतालमा बजेट समयमै नआउँदा पटकपटक म्याद थप्नुपरेको गाउँपालिकाको भनाइ छ ।

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । खानी खड्का र कमल जित जेभी निर्माण सेवाले काम गरिरहेको उक्त भवन आगामी असारसम्म हस्तान्तरण गर्ने तयारी छ । अहिले झ्यालढोका जडान र रंगरोगनको काम बाँकी रहेको उनले बताए ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मा देशभरका स्थानीय तहमा ५ देखि १५ बेडसम्मका अस्पताल निर्माण गर्ने योजना अघि सारेका थिए । सोही योजनाअन्तर्गत कर्णालीका ४२ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि छनोट गरिएको थियो । जुम्लाका आठ स्थानीय तहमध्ये कनकासुन्दरी र तिला गाउँपालिका पनि सो योजनामा परेका थिए ।तर वर्षौंसम्म अस्पताल भवन निर्माण अधुरै रहँदा स्थानीयवासीले सरकारी योजनाको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । दुर्गम भेगका नागरिकले समयमै उपचार नपाउँदा सानो बिरामीसमेत जटिल बन्ने जोखिम बढिरहेको स्थानीयको गुनासो छ ।

सात वर्षपछि पनि अधुरा गाउँका अस्पताल शिलान्यासमै सीमित 

सात वर्षपछि पनि अधुरा गाउँका अस्पताल शिलान्यासमै

Leave a comment

Your email address will not be published. Required fields are marked *