सुरु भए भूकम्प पीडितका कष्टकर रात

ओम शाही
सुर्खेत, १९ मंसिर ।
जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पीडितहरु अस्थायी टहरोमै बस्न बाध्य छन् । १७ कार्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालि–१, रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणमा संघीय सरकार उदासिन बन्दा पीडितहरु तेस्रो हिउँद पनि टहरामै बिताउने तरखरमा छन् ।
उक्त घातक कम्पनका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५४ जनाले ज्यान गुमाएका थिए । भूकम्पपछि फितलो राज्यको उपस्थितिका कारण प्रभावित क्षेत्रका हजारौ नागरिक अस्थायी आवासमा जीवनयापन गर्न बाध्य छन् । सुरुमा उद्दार, राहत र अस्थायी आवास निर्माणमा तीव्रता दिएको जनाउने सरकारले पुनर्स्थापना र पुनर्निर्माणमा गरेको ढिलाइले अझै पनि कतिपय नागरिकले अस्थायी आवासवापतको दोस्रो किस्ताको रकमसम्म पाउन नसकेको गुनासो गरिरहेका छन् ।
भूकम्पपछिको केही महिना त्रिपाल र त्यसपछि टहरामा दयनीय अवस्थामा बसेका भूकम्पपीडित अझै टहरामै कठ्याङग्रिनु पर्ने बाध्यता रहेको त्रिवेणी गाउँपालिका–१०, का कृष्णबहादुर ओलीले बताए । ‘अघिल्ला वर्षका दुई हिउँदमा त्रिपाल र जस्तापातामुनि कठ्याङग्रिएर र गर्मीयाममा टहराभित्र उकुसमुकुस भएर दिन बिताएका थियौं’ उनले भने, ‘टहराको छानाबाट चुहिने शीतले बालबच्चा र वृद्धवृद्धा अत्यन्तै प्रभावित भएका छन् ।’
सानीभेरी गाउँपालिका–१, की अमृता पुनले अस्थायी टहराभित्र शीतले भिजेका सिरक ओढेर रात काट्न बाध्य हुनुपरेको दुखेसो पोखिन । ‘भूकम्पमा परेर दाइ, भाउजु र भतिजको मृत्यु भएको थियो । चिसोकै कारण विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेका छन्,’ उनले भनिन्, ‘सरकारले दिएको ५० हजार रुपियाँले टहरा बनाएर बसेका छौं । उक्त टहरामै बुवा, आमा, भाइ, बुहारीसहितको परिवार बस्नुपरेको छ ।’
चौरजहारी नगरपालिका–१, का देवबहादुर विकले भूकम्पले घर भत्काएपछि टहरामै बस्दै आएको बताए । उनका अनुसार टहराको बसाइ थप जोखिम बन्दै गइरहेको छ । त्यस्तै, जुनिचाँदे गाउँपालिका–२, मजकोटका दिपक शाहीको परिवार पनि सरकारले दिएको अस्थायी आवासवापतको रकमबाट बनेको एक कोठे टिनको छानोमा कठ्याङग्रिदा रात काट्न बाध्य छ ।
परिवारका चार भाई मध्ये दिपकलाई मात्र सरकारले अस्थायी आवासवापतको रकम दिएको थियो । अन्य चार भाईको परिवार भूकम्पबान क्षतिग्रस्त पुरानो घरमै जोखिम मोलेर बस्न बाध्य छ । अस्थायी आवासका लागि तथ्यांक संकलनमा छुटाइएका उनीहरु राज्यले उपलब्ध गराउने राहतबाटै बञ्चित बन्न पुगेको गुनासो दिपकले गरे ।
‘भूकम्पले पुर्ख्यौली घरमा क्षति पुर्यायो । त्यस घरमा मसहित पाँच भाइको परिवार बस्थ्यो,’ दिपक भन्छन्, ‘अस्थायी आवास निर्माणको विवरण संकलन गर्दा भाइहरुलाई छुटाइएको छ । अहिले उनीहरु पुरानै घरमा जोखिम मोलेर बस्न बाध्य छन् ।’ भूकम्प गएयता घर बस्न लाएक नभएपछि सिङ्गो गाउँ नै सुकुमवासी बनेको स्थानीयको गुनासो छ । हिउँद लागेसँगै यसवर्षको चिसो याम कसरी काट्ने भन्ने चिन्ता बढ्न थालेको दिपकले सुनाए ।
कर्णाली सरकारले बनायो १४ विद्यालय र स्वास्थ्यका भवन
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, सल्यान र रुकुम पश्चिममा गरी १४ वटा विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माण गरेको छ । भूकम्प प्रभावित जिल्लाहरूमा प्रदेश सरकारद्वारा सञ्चालित पुनर्निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणमा १४ वटा संरचना पुनर्निर्माण भएका हुन् ।
भुुकम्पले विद्यालय र स्वास्थ्य संस्थामा ठुुलो क्षती पुर्याएको थियो । पुनर्निर्माण कार्यक्रम अन्तर्गत विद्यालयको हकमा अधिकतम ७५ लाख र स्वास्थ्य संस्थाको हकमा ५० लाख रुपैयाँ बराबरको लागत अनुमान गरेर पुनर्निर्माणको काम भइरहेको प्रदेश सरकारले जनाएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न भएका संरचनामध्ये ६ वटा सल्यान र बाँकी रुकुम पश्चिमका रहेको जनाएको छ । जाजरकोटमा भने काम सुस्त गतिमा भइएको छ । चालु आर्थिक वर्षमा पुनर्निर्माणको कामलाई अझ तीव्रता दिने कर्णाली सरकारले जनाएको छ ।
यस वर्ष थप योजनाहरूसहित कम्तीमा एक सय वटा भूकम्प प्रभावित विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गत वर्ष उक्त कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमा २५ करोड जाजरकोट, २२ करोड रुकुमपश्चिम र तीन करोड रुपैयाँ सल्यान जिल्लाका लागि छुट्ट्याइएको थियो । चालुु आर्थिक वर्षमा थप ४२ करोड १० लाख रकम विनियोजन गरिएको छ ।
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्थाका भवनमा क्षति पुर्याएको थियो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिममा दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको तथ्याङ्क छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका थिए ।
जाजरकोटमा एक सय ४३ र रुकुमपश्चिममा ४९ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको संख्या दुई सय ९६ र रुकुमपश्चिममा दुई सय १३ वटा छन् । तथ्यांक अनुसार भूकम्पबाट जाजरकोटका ७७ हजार ६ सय ५६ विद्यार्थी प्रभावित बनेका थिए । सो भूकम्पमा परी ४५ जना विद्यार्थीको मृत्यु भएको थियो भने ९७ जना घाइते भएका थिए । यस्तै, रुकुमपश्चिमका ५३ हजार ३८ विद्यार्थी प्रभावित हुँदा ३० जनाको मृत्यु र एक जना घाइते भएका थिए ।






