बजारमा भरिभराउः प्लास्टिकका माला
तिहार फूलको पर्व हो । मखमली, हजारी र सयपत्रीजस्ता फूल फुल्दा तिहार नजिकिएको संकेत हुन्छ । तर, पछिल्लो समय तिहारका बेला यी फूल जुम्लामा फुल्नै छाडेका छन् ।
व्यवसायिकरूपमा फूलको खेती गर्ने चलन छैन । आफ्ना लागि लगाउनेले रोप्ने समय र फुल्ने बिरुवा छनोटमा ध्यान दिँदैनन् । प्लास्टिकका फूलले तिहारको बजार लिएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–५ का वडा अध्यक्ष विर्ख कार्कीले बजारभरि पाइने प्लाष्टिकका फूलको कारण तिहारको मौलिकता हराएको जस्तो लाग्ने बताए ।
पहिले त आँगनभरि ढकमक्क फूल फुल्थे । तिहारको रौनक अर्कै हुन्थ्यो । उनले भने,‘अचेल प्लास्टिकका माला गाउँदेखि सहरसम्म पुगेका छन् । सम्झिँदा दिक्क लाग्छ ।’ मौलिकता जोगाउने फूलको खेती गर्दा पनि सहज हुने देखिएको उनले बताए ।
पर्वमा प्रयोग हुने फूलको स्थानीयस्तरमा उत्पादन नहुनुको असर दूरगामीरूपमा परेको छ । पर्वमा प्रयोग गर्न आयातित वस्तुमाथि निर्भरता बढेको स्थानीय बताउँछन् । स्थानीय तारा खत्रीले सडक पहुँचका कारण प्लाष्टिकका माला गाउँघरमै पुग्न थालेपछि फूल लगाउने क्रम घटेको बताइन् ।
गाउँका ससाना पसलमा समेत प्लाष्टिकका माला छ्यापछ्याप्ती पाइने गरेका उनको भनाइ छ । बजारदेखि गाउँसम्म जताततै प्लास्टिकका माला किन्नेको भीड देखिन्छ ।
उनले भनिन्,‘आफ्नो बारीमा फूल लगाउन त अल्छी मान्न थालिसके ।’ तिहारको अवसर पारेर यहाँका व्यापारीले लाखौं रुपैयाँ बराबरको कृत्रिम फूल भित्र्याएका छन् । जुम्लाको सदरमुकाम खलंगा बजारस्थित कस्मेटिककी सञ्चालक रिता भण्डारी भन्छिन् । प्लाष्टिकका माला बेच्न हामीलाई पनि रमाइलो लाग्दैन । तर, जे बिक्छ त्यो त ल्याउनै पर्छ । विभिन्न रङका झिलिमिली माला बाहिर देखि ल्याउने भएपनि गाउँघरका फूल पाए बेच्ने उनले बताइन ।
गाउँबाट आउने मान्छेमा प्लाष्टिकका मालामा आकर्षण देखिने गरेको उनले बताइन् । वर्सेनी मालाको व्यापार बढ्दै गएको उनको भनाइ छ । जिल्ला बाहिरबाट भित्रिएका प्लास्टिकका मालाले जुम्लाका विभिन्न ग्रामीण बजार क्षेत्र रंगीचंगी छन् । सिंजाको नराकोट बजार, कनकासुन्दरीको गोठिज्युला, पातारासीको लासी बजार, तिलाको रारा बजार लगायतका बजारमा प्लास्टिकका माला भरिभराउ छन् । माला किन्नेको भीड उत्तिकै बाक्लो देखिन्छ ।
एक मालाको मुल्य १५ रुपैयाँ देखि १ सय ५० रुपैयाँसम्म पर्ने व्यापारी बताउँछन् । सुविधाका नाममा पर्वको मौलिक पक्षलाई बेवास्ता गर्नु गलत भएको स्थानीय महिला आशा उपाध्याय बताउँछिन् । हाम्रो मालिकतालाई हामी आफैंले जोगाउने हो, अरूले आएर जोगाइदिँदैनन् ।
उनले भनिन्, ‘हामीले यसलाई बेलैमा ख्याल गर्न आवश्यक छ । आयतित प्लास्टिकका मालाको व्यापार त त्यसै घट्ने भइहाल्यो ।’ प्लाष्टिक माला पसलमा सजिएका थरिथरि रंगका माला देखिन्छन् । तिहार हिउँदको समयमा पर्ने भएकोले सयपत्री फुल बचाउन निकै गाह्रो हुने गरेको किसान गोकर्ण बहादुर रावल बताउँछन् ।
उनीहरुले व्यवसायीक फूल खेती गर्नको लागि स्थानीय वा अन्य सरकारले अनुदानका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उनले भनीन्, ‘यो सयपत्री फुल जाडोयाम सुरु भएकोले तिहार सम्म राख्न चुनौति छ ।’






