भूकम्प प्रभावित क्षेत्र जान कांग्रेस महामन्त्रीद्वय सुर्खेतमा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा बुधवार बिहान भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत आइपुगेका छन् ।
महामन्त्रीद्वय थापा र शर्मा पार्टीको केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिका तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा जान लागि सुर्खेत आइपुगेका हुन् । नेपाली कांग्रेस महासमिति सदस्य राजबहादुर रोकायाले पार्टीका महामन्त्रीद्वय सुर्खेत आइपुगेको बताए ।
उनीहरू काठमाडौंबाट सुर्खेत झरेलगत्तै पार्टी कार्यालयमा प्रदेश कार्य समितिसँग बैठक सुरु भएको बताए । महासमिति सदस्य रोकायाले बैठक चलिरहेको र बुधवारै महामन्त्रीद्वय जाजारकोट जाने कार्यक्रम रहेको बताए ।
महामन्त्रीसँगको बैठकमा कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाही, प्रदेश सभापति ललितजंग शाही लगायतका नेताहरूको सहभागिता रहेको छ ।
पुनःस्थापना र पुनःनिर्माणका लागि नेपाली कांग्रेसले आफ्नो धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइसकेको छ ।
यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आउछन् र सरोकारवालाहरूको सुझावहरू लिनुका साथै सो विषयमा महामन्त्रीद्वयले स्थलगत रूपमा परामर्श र अध्ययन गर्नेछन् ।
महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पु¥याउने नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली मर्माहत र स्तब्ध भएको र यस विपत्तिको सामना सबै राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर एकताबद्ध भएर गर्नुपर्ने जनाएको छ । नेपाली कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।






