काँग्रेसका केन्द्रीय नेता काठमाडौंमा, एमालेका केन्द्रीय नेता घरदैलोमा
सुर्खेत, २३ बैशाख ।
अहिले कर्णालीका हरेक स्थानीय पालिकामा हरेक दलहरुले घरदैलो अभियान सुरु गरिरहेका छन् । सत्तारुढदलहरुले कर्णालीमा गठबन्धन गर्ने भनेर धेरै प्रयास गरेपनि सफाल हुन भने सकेनन् ।
कर्णालीका केहि पालिका बाहेक अन्यत्र अलगअलग चुनाव लडने योजना सहित राजनीतिक दलहरु प्रचार प्रसारमा खटिरहेका छन् ।
कर्णालीमा सबैभन्दा बढि चर्चामा रहेको जिल्ला सुर्खेत हो । यो जिल्ला नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलसमेतको गृहजिल्ला हो ।
२०७४ सालको निर्वाचनमा तीन तहमा जित हात पारेको एमाले अहिले त्यो संख्या बढाउने दाउमा छ भने काँग्रेस ६ तहमा जितेको भएपनि यो चुनावमा त्यो वा त्यो भन्दा बढि तह जितेर आफ्नो वर्चस्व कायम राख्न चाहन्छ ।
सुर्खेतको सबैभन्दा बढि महत्वपूर्ण नगरपालिका वीरेन्द्रनगर हो । २०७४ सालको निर्वाचनमा एमालेले १६ वडामध्ये नो ओटा वडा र उपमेयर जितेको थियो भने झिनो मतान्तरमा काँग्रेसले पाँच वडा र मेयरमा जित हात पारेको थियो । अहिले यी दुवै दलहरु चुनावी प्रचारप्रसार देखि घरदैलो अभियानमा सहभागि भइरहेका छन् ।
नेपाली काँग्रेसले यो पटक पनि वीरेन्द्रनगरमा जीत हात पोर्न दाउका साथ चुनावमा होमिइसकेको अवस्थामा हालसम्म कोही पनि केन्द्रीय नेताहरु उम्मेदवारको पक्षमा चुनावी महौल तताउन आएका छैनन् ।
नेपाली काँग्रेसका उपसभापति खड्का पक्षले गत काँग्रेसको महाधिवेशनमा एकलौटी जीत हात परेपछि काँग्रेसको शेखर समूह अर्थात सुर्खेतमा हृदयराम थानी समूह काँग्रेस नेतृत्वबाट बञ्चित भएको छ । चालीस प्रतिशत भागवण्डा मागेको थानी समूहले सुर्खेतका नौ पालिका र ९९ ओटा वडामा कहि कतैपनि उम्मेदवारी दिएको छैन ।
काँग्रेस भित्र पछिल्लो समयमा अन्र्तविरोध चरमोत्कर्षमा पुगेको छ भने काँग्रेस भित्रको विवादले एमाले भने उत्साही देखिएको छ ।
‘काँग्रेसका केन्द्रीय नेताहरु उम्मेदवारका पक्षमा मत माग्न जनताको घरमा आएका छैनन् । उम्मेदवारहरु मात्रै घरदैलो अभियानमा सहभागि भएका छन् ।’ काँग्रेसका नेताहरु गुनासो गर्छन, ‘कम्तिमा केन्द्रीय नेताहरु चुनाव प्रचारमा आइदिएको भए थप उत्साह थपिन्थ्यो ।’
खड्का काठमाडौंमा नै छन भने असन्तुष्ट समूहका नेता हृदयराम थानी पनि खुलेर चुनावी अभियानमा लागेका छैनन् । ‘उहाँहरु पनि खुलेर मत माग्न लाग्नु भएको छैन । एमालेका स्थायी कमिटि सदस्य कंडेलले चुनावी मोर्चा सम्हाल्दा हामी भने अभिभावकविहीन जस्तै बनेका छौं ।’
काँग्रेसले अहिले हरेक वडामा चुनावी अभियान सुरु गरेको छ । काँग्रसले नगरसभापति उपेन्द्र खड्कालाई मेयरको उम्मेदवार बनाएको छ ।
नगरप्रमुखका उम्मेदवार खड्काले केहि दिन अघि असन्तुष्ट समूहका नेता थानीसँग भेटवार्ता समेत गरेपनि थानी समूहका नेताहरु खुलेर चुनाव प्रचारमा आइसकेका छैनन् ।
थानी समूहले असहयोग गर्ने भयका कारण वीरेन्द्रनगरमा माओवादीसँग काँग्रेसले गठबन्धन गरेको थियो । एमालेले भने जिल्लाको मुख्य कमाण्डरकै रुपमा कंडेललाई अघि सारेको छ ।
विगतमा पार्टीभित्र चर्को गुटबन्दी गर्ने गरेको आरोप कंडेललाई लाग्ने गरेको भएपनि यसपटकको निर्वाचनमा भने कंडेल त्यो भ्रम चिर्न सफल भएका छन् । उनी चौकुनेदेखि सिम्तासम्मका कार्यक्रमहरुमा सहभागि भइरहेका छन् भने वीरेन्द्रनगरका प्राय वडामा उनी पुगिसकेका छन् ।
‘टिकट वितरणमा समेत यो पटक उहाँले हस्तक्षेप गर्नुभएन । आम कार्यकर्ताको भावना बमोजिम नै टिकट वितरण भएको छ । यसकारण पनि कार्यकर्ताहरु खुशी भएका छन् । एमालेको पक्षमा जिल्ला व्यापी रुपमा माहौल भन्दै गइरहेको छ ।’
एमाले नेता एवम जिल्ला कमिटि सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटा भन्छन्, ‘टिकट पाउने चाहना अधिकांशको हुने भएपनि जित्नेहरुलाई टिकट दिइएको छ । एमालेले सुर्खेतमा यो पटक कसैले नसोचेको जसरी चुनाव जित्छ ।’ उनले समाजवादीले एमालेलाई हराउने अभियान सुरु गरेपनि त्यसले केहि क्षति नहुने आंकलन गरे ।







