पार्टीबाट टिकेट लिएर उम्मेदवार बनेका कर्णालीका अगुवा पत्रकारहरु !

पत्रकारितामा रहँदा यो गर्नुपर्छ उ गर्नुपर्छ भनेर लेखियो, बोलियो । तर समाज उस्तै भयो । त्यहाँ रहँदा समाजमा देखिएका समस्यालाई हल गर्नका लागि मुल धारको राजनीतिमा होमीएका हौं ।

सुर्खेत, २३ बैशाख ।
आसन्न स्थानीय तहको दोस्रो निर्वाचनको लागि कर्णालीका केही पत्रकारहरुले पनि विभिन्न पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । राज्यको चौंथो अङ्गका रुपमा चिनिने पत्रकारहरु पार्टीबाट टिकेट लिएर चुनावी मैदानमा होमिएका छन् । सक्रिय पत्रकारिता पेशाबाट विश्राम लिँदै सक्रिय राजनीतिमा होमिएका हुन ।

लामो समय पत्रकारिताबाट जनताका भावना, अपेक्षा बुझेर खारिएका पत्रकारका अगुवाहरु विभिन्न राजनीतिक दलबाट टिकट लिएर निति निर्माण तहमा पुग्ने अपेक्षा गरिएको छ । पत्रकारितामा रहँदा पदमा रहेका व्यक्तिहरुलाई जवाफदेही बनाउँदै प्रश्न गर्ने ठाउँबाट अब प्रश्नको जवाफ दिने ठाउँमा पुग्ने अपेक्षासहित उम्मेदवार भएका छन् ।

नेकपा एमाले निकट प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष रहेका जाजरकोटका पत्रकारका अगुवा वीर बहादुर गिरी बारेकोट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका छन् । नयाँ पत्रिका, राजधानी दैनिक, नेपाल टेलिभिजनमा लामो समय सक्रिय पत्रकारिता गरेको अनुभव छ ।

सक्रिय पत्रकारिताबाट विदा लिँदै राजनितिमा होमिएका हुन । यस अघि नेकपा एमाले जाजरकोटको जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिव पदमा विजयी भएका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष, सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेश समितिका पूर्व अध्यक्ष, राप्ती एफएम सल्यानको अध्यक्ष रहेका अगुवा पत्रकार रमेश गौतम पनि सक्रिय राजनितिमा होमिएका छन् ।

पार्टी विभाजित हुनुपूर्व नेकपा एमाले सल्यानको पार्टी सचिव पदमा निर्वाचित गौतम पार्टी विभाजित भएपछि एकीकृत समाजवादी पार्टीमा आवद्ध रहेका उनी सोही पार्टीबाट टिकट लिएर सल्यान सदरमुकामको शारदा नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार दिएका छन् ।

काँग्रेस–समाजवादीको गठबन्धनबाट साझा उम्मेदवारको रुपमा चुनावी अभियानमा रहेका छन् । त्यसैगरी नेपाल पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष नमन शाही चामुण्डाविन्द्रासैनी नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् ।

गोरखापत्र दैनिक लगायत विभिन्न मिडियामा आवद्ध रहेर लामो समय पत्रकारिता गरेका शाही पत्रकारिताबाट विश्राम लिँदै सक्रिय राजनीतिमा होमिएका हुन । नेकपा (एकीकृत समाजवादी) बाट टिकट लिएर चुनावी दौडानमा रहेका छन् ।

कालिकोटबाट नेपाल पत्रकार महासंघका साधारण सदस्य, सुर्खेतको बुलबुले एफएम, चंखेली एफएम कालिकोटमा आवद्ध भएर काम गरेका पुष्पराज आचार्य पनि राजनीतिमा होमिएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट टिकट लिएर शुभकालिका गाउँपालिका कालिकोटको अध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् ।

पत्रकारिताबाट अगुवाई गर्दै आएका यिनै पत्रकार अगुवाहरु वैशाख ३० स्थानीय तहको निर्वाचन लड्दैछन । युगआव्हान दैनिकले प्रमुख/उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका केही पत्रकारका अगुवाहरुसँग उनीहरुको चुनावी योजना के–कस्ता छन् भन्ने विषयमा बुझ्ने प्रयास गरेको छ ।

‘पत्रकारिता र राजनिति दुवै समाजसेवा हुन’
वीरबहादुर गिरी, एमालेबाट अध्यक्ष पदका उम्मेदवार
बारेकोट गाउँपालिका, जाजरकोट

— म अहिले घरदैलो अभियानमै छु । खासगरीकन एमालेप्रति जनताको विश्वास र भरोषा बढेको हुँदा गठबन्धन भएपनि हामी जित्छौं भन्ने विश्वासका साथमा अघि बढेका छौं ।

राजनीतिक दलले जनताकाबीचमा जाँदा एजेण्डाहरु लिएर जाने हो । तर उनीहरु (गठबन्धनका उम्मेदवार) विना उद्देश्य जनताकोबीचमा गएका छन् । त्यो भएर जनताले गठबन्धनका विरुद्धमा जनता उभिएका छन् ।

मेरो प्रतिस्पर्धीको रुपमा गठबन्धनका उम्मेदवार महेन्द्रबहादुर शाह हुनुहुन्छ । पत्रकारिता र राजनीति दुईवटै समाज सेवाका क्षेत्र हुन् । पत्रकारिताबाट हेर्न सकिन्छ भने राजनीतिबाट देखिने कुराहरु गर्न सकिन्छ । समस्याहरु हल गर्न सकिन्छ ।
म गत भदौंदेखिनै पत्रकारिताबाट बाहिरिएको हो । ०५८ सालदेखि पत्रकारिता सुरु गरेको मैले प्रेस चौतारी नेपालको जिल्ला हुँदै केन्द्रीय उपाध्यक्षसम्म भएँ । त्यसपछि जाजरकोटको पार्टीमा प्रवेश गरेँ । र पार्टीको सचिवको जिम्मेवारीमा पनि छु ।
यहाँ मैले जित्न सक्ने प्रशस्त आधारहरु छन् । पहिलो कुरा मेरो प्रतिस्पर्धी शाहले यसअघि सत्ता सञ्चालन गर्दा थुप्रै कमजोरी छन् । र, उहाँको कार्यशैलीप्रति जनता सन्तुष्ट छैनन् । दोस्रो कुरा गठबन्धनप्रति जनताको कुनै विश्वास छैन् । त्यो भएकाले मैले जित्न सक्छु ।

‘आवासीय विद्यालयसहितको एजेण्डा लिएको छु’
पुष्पराज आचार्य/एकीकृत समाजवादीबाट अध्यक्ष पदका उम्मेदवार
शुभकालिका गाउँपालिका, कालिकोट

म खास गठबन्धनकै उम्मेदवार भएपनि गठबन्धन दलहरुबीच कुरा नमिल्दा अहिले एक्लै चुनावी मैदानमा होमिएका छौं । जनताले मलाई उपयुक्त पात्रको रुपमा स्वीकार गर्नुभएको छ ।

युवाको नेतृत्व गर्नुभएको छ भनेर पनि प्रसंशा भइरहेको पाएको छु । हामी चुनावी प्रचार अभियानमा जुटिसकेका छौं । जहाँ पुग्यौं त्यहाँबाट राम्रो ‘रेस्पोन्स’ पाएको छु । जनताले भोट दिने बाचा गरेका छन् । त्यो हिसाबले मैले चुनाव जित्छु भन्ने लागेको छ ।

मैले केही सिद्धान्त अघि सारेको छु । सोही अनुसार दीर्घकालिन लक्ष्य र उद्देयका साथ काम गर्ने मेरो मुल मन्त्र नै हो । मैले सुर्खेतको बुलबुले एफएमबाट पत्रकारिताको सुरुवात गरेको थिएँ । ०६२ बाट सुरु गरेको पत्रकारिता एक बर्ष अघिदेखि बिट मारेर राजनीतिमा सक्रिए भएको हुँ ।

कालिकोटमा रेडियो चङ्खेली स्थापना गर्नेदेखि पत्रकारिताकै माध्यमबाट समाजलाई नजिकबाट बुझ्ने अवसर पाइयो । अहिले मेरो प्रतिस्पर्धी काँग्रेस र माओवादी छन् । ती दुई दलको गठबन्धन छ भने एमाले र हामी एक्लै छौं ।

मेरो प्रतिस्पर्धी पुरानो पुस्ताको व्यक्तिहरु हुनुहुन्छ । मैले जित्ने आधार भनेको म लामो समय पत्रकारिता र विद्यार्थी राजनीति, गैरसरकारी संघ संस्थाहरुमा अनुभव गरेको छु ।

मेरो पहिलो एजेण्डा भनेको यहाँका सबै क्षेत्रमा सडक पुगेको छैन् । त्यो कुरालाई दिगो हुने गरी विकास गर्नेछु । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिर्वतनको आवश्यकता छ । त्यो भएकाले शिक्षाको गुणस्तरका लागि आवासीय विद्यालयसहितको एजेण्डा लिएर म अघि बढेको छु ।

स्वास्थ्य क्षेत्रमा निकै समस्या छ । कृषि क्षेत्रमा उत्पादनलाई व्यवसायिक बनाउन सकिएको छैन । त्यसलाई बजारिकरण गर्नका लागि पनि मलाई जनताले मत दिनुपर्छ भन्ने हो । कृषिमा आत्मनिर्भर बनाउनका लागि मेरो उम्मेदवारी हो भने सुशासनलाई व्यवस्थित बनाउने मेरो प्रतिबद्धता छ ।

कलमका माध्यमबाट लेखिरहँदा हल्लिन सकेनन्
नमन शाही, एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार
चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख

— समाजसेवा गर्ने उद्देश्यका साथ नै पत्रकारिता क्षेत्रमा लागेको हुँ । राजनीतिक दलहरुले गरेका कमि कमजोरीका विरुद्धमा आवाज उठायौं । त्यही कमजोरीहरु हामीले कलमका माध्यमबाट लेखिरहँदा हल्लिन सकेनन् । र, हामी पनि अब मैदानमा उत्रिनुपर्छ ।

समाजसेवामा पनि अग्रसरता देखाउनुपर्छ भनेर राजनीतिमा समाहित भएका हौं । यो सुरुवात हो । मुल धारमा लागेर जनतालाई सुसजित पार्न सकिन्छ ।

जनताका हक, अधिकारहरु प्रत्याभूति गर्ने कुरामा अग्रणी भूमिका हामी आफैबाट गर्नुपर्छ भनेरनै हामी मुल धारमै राजनीतिमा आएको छु ।

उसो त म माध्यमिक शिक्षा अध्यायन गर्दा गर्दै पनि पार्टी पङ्तिसँग नजिकनै छु । मैलै उच्च शिक्षा हासिँल गर्दा पत्रकारिता पढँे । आरआर क्याम्पसबाट पत्रकारितामै बिए पास गरेँ ।

२०६० सालदेखिनै सक्रिय पत्रकारितामा होमिएको थिएँ । ०६१ सालमा इन्सेकको दैलेख जिल्ला प्रतिनिधि हुँदै मानव अधिकारकर्मीका रुपमा समाजलाई अझ नजिकबाट बुझ्ने अवसर पाएँ ।

पत्रकारिता र मानव अधिकार क्षेत्र सँगसँगै अघि बढ्दा तत्कालिन धमाका दैनिक पत्रिकाको प्रकाशक भएँ । दैलेखको पहिलो रेडियो पञ्चकोशीको सहायक स्टेशन म्यानेजर समेत भएँ ।

त्यो बेला पनि जनताकै हक अधिकारका लागि लडिएको हो । त्यसपछि ०६५ देखि गोरखापत्रको डेस्कमै बसेर काम गर्ने पनि अवसर पाएँ भने ०७० मा आएर नेपाल पत्रकार महासंघको दैलेख जिल्ला अध्यक्ष भए काम गरेको अनुभव मसँग छ ।

हामी जुन फिल्डमा भएतापनि उद्देश्य समाज परिर्वतनकै लागि भयो । तर बाहिर बसेर जति लडाइँ लड्न सकिन्छ । भित्र पनि बसेर अझ सशक्त तरिकाले सकिन्छ भनेर म जनताको बीचमा आएको छु ।

एउटा उम्मेदवारका हिसाबले म अहिले जनताको बीचमा छु । जनताले सहयोग गर्नुहुने छ भन्ने अपेक्षा पनि छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकालाई यदि म मेयर भएभने शिक्षा नै मेरो पहिलो प्राथमिकता बन्छ ।

व्यावसायीक कृषि र गुरुयोजनासहितको पूर्वाधार विकास गर्नुपर्छ भन्ने मेरो योजना छ । यसअघिका जनप्रतिनिधिहरुले बिना प्लानका योजना बनाउने गरेका देखिए ।

जनताका आवाश्यकताका आधारमा बजेट ल्याउने, सुशासनलाई मुल मन्त्र बनाएर अघि बढ्ने मेरो योजना छ । यहाँ गठबन्धन बन्न सकेन् । त्यो भएर अहिले एक्लाएक्लै चुनावी मैदानमा होमिएका छौं ।

‘हिजो प्रश्न गर्नेतिर थियौं’
रमेश गौतम/एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार
शारदा नगरपालिका, सल्यान

— पत्रकारिताका माध्यमबाट समस्याहरु लेखियो, बोलियो । हिजो राज्यले यो गर्नुपर्छ उ गर्नुपर्छ भनेर भनियो । त्यहाँ रहँदा समाजका धेरै कुराहरु बुझिएको छ ।

त्यसलाई कार्यान्वयन गर्नका लागि मेरो उम्मेदवारी छ । म प्रेस चौतारीतिर पनि लामो समय बसे । नजिकबाट राजनीतिलाई नियाल्ने अवसर पनि पाएको थिएँ ।

हामी हिजो नेताहरुलाई समाजमा दलित, महिलाका मुद्दाहरु कसरी उठाउनुहुन्छ ? भनेर प्रश्न गर्नेतिर थियौं । हिजो हामीले नै उठाएका विषयलाई पुरा गर्नका लागि जिम्मेवारी बढेको अनुभूति मलाई भएको छ ।

जनताले मलाई मत दुईदिन वटा कारणले दिनुपर्छ । हिजो फरक क्षेत्रबाट महत्वपूर्ण काम गरिएकै हो । अब त्यसको मुल्यांकन हुनुप¥यो भनेर मत मागिरहेका छौं । अर्को कुरा हामीले अलिकति भएपनि स्थानीय सरकार कसरी सञ्चालन गर्नुपर्छ ? ऐन, कानूनका कुराहरु बुझेका छौं ।

स्थानीय तहलाई सहि तरिकाले चलाउनका लागि पनि हामी अग्रसर हुन्छौं । अर्को कुरा नगरको विकास, समृद्धिका र सुशासन कायम गर्नका लागि हामीलाई जनताले मत दिनुपर्छ । हाम्रो प्रतिबद्धता पनि त्यही किसिमको बनाएका छौं ।

मैले २०५८ सालदेखि सक्रिय पत्रकारिता गर्दै राजधानी दैनिकको समाचारदाता भएर पनि काम गरेको अनुभव छ । पत्रकार महासंघ सल्यानको अध्यक्ष हुँदै सामुदायिक रेडियो प्रशारक सघंको एक कार्यकाल काम गरेको छु भने रेडियो राप्ती एफएमको अध्यक्ष भएर काम गरियो । जुन अहिले पनि चलिरहेको छ । म ०७४ देखि सक्रिय राजनीतिमा लागेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *