नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने भएको छ ।
आगामी जेष्ठ २२ गते देखि २८ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट विभिन्न २८ खेलमा सहभागिता गराउने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषदले तयारि गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए । उनका अनुसार अहिले कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडीहरु छनोटको प्रक्रिया चलिरहेको छ ।
छनोट भएका खेलाडीहरुलाई भने आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइने खेलका खेलाडीहरुको बन्द प्रशिक्षणको लागि भने कर्णाली प्रदेश सरकारले रु.१ करोडको बजेट व्यवस्थापन गर्ने भएको छ।
विहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र परिषदका सदस्य सचिव विश्वामित्र संज्यालको भेटका क्रममा कर्णाली प्रदेशले सहभागिता जनाउने खेलका खेलाडीहरुको लागि र बन्द प्रशिक्षणको लागि आवाश्यक बजेटको विषयमा पनि छलफल भएको थियो । पदक विजेता खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप पुरस्कृत पनि गर्ने छ,‘सदस्य सचिव संज्यालले भने, ‘हामी पनि परिषदको तर्फबाट त्यो तयारी गरिरहेका छौं ।’
प्रदेश सरकारले पुरुस्कृत गर्ने विजयी खेलाडीहरुमा स्वर्ण पदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई १ लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रोत्साहन पुरस्कार दिइने छ।
१० औं राष्ट्रिय खेलकुल प्रतियोगिता आयोजनाको लागि कर्णालीले गण्डकी प्रदेशबाट झण्डा लिने भएकोले कर्णाली प्रदेशबाट खेलाडी, प्रशिक्षक , व्यवस्थापक र पत्रकार गरी कर्णाली ६ सय जनाको सहभागिता रहने छ ।






