धुलियाबिट–बोटेचौर खण्डको डीपीआर स्वीकृत, ठेक्का प्रक्रिया सुरु

सुर्खेत । सुर्खेतमा खण्डमा पर्ने मदन भण्डारी राजमार्ग धुलियाबिट–भेडाबारी–बोटेचौर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । डीपीआर स्वीकृत भएसँगै सुर्खेतको पूर्व क्षेत्रमा मदन भण्डारी राजमार्गले गति लिने भएको हो ।
‘धुलियाबिट–बोटेचौर खण्डको डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ’ भदन भण्डारी आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिलसेनाले भने, ‘अब बहुबर्षिय आयोजना अन्तर्गत ठेक्का प्रक्रियाको सुरु हुन्छ ।’ आगामी बैशाख महिनाभित्र काम सुरु गर्नेगरी हप्तादिनभित्रै टेन्डर आह्वान गर्ने आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्षमा काम सम्पन्न गर्न नसकिने भएका कारण बहुबर्षिय आयोजनामा ठेक्का प्रक्रिया तयारी गरेको तिमिल्सेनाले जनाए । ठेक्का छनौट भएपछि धुलियाबिटदेखि बोटेचौरसम्म ३५ किलोमिटर सडक खण्डको स्तरोन्नति सुरु हुने छ । गत कात्तिक महिनामा कार्ड कन्सल्ट प्रालिले आयोजनाको डीपीआर तयार गरेको थियो ।
डीपीआर अनुसार सडक नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने छ । हाल सडकमा औसत चार मीटर चौडाई छ । स्तरोन्नती गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुने छ । स्तरोन्नती गर्न झण्डै दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । डीपीआर अनुसार कुल एकअर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय ७३ रुपैयाँ लागत अनुमान गरिएको छ ।
यो रकममा ठेक्का स्वीकृतपछि केही फेरबदल हुनसक्ने छ । आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ र १३, लेकबेशी नगरपालिकाको वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० र गुर्भाकोट नगरपालिका वडा नं. १०, १२, १३ र १४ प्रत्यक्ष रुपमा प्रभावित हुने हुने छन् ।
सडक स्तरोन्नति भएको खण्डमा पूर्वका नागरिकलाई वीरेन्द्रनगर आउजाउ गर्न सहज हुनेछ । २०३६ सालमा ट्¥याक खुलेको भेडाबारी सडक खण्ड ४१ बर्षसम्म स्तरोन्नति भएको छैन । पूर्व क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको भेडाबारी सडक खण्ड स्तरोेन्नति भएमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
आयोजना संशोधन, अब सल्यान हुँदै रोल्पा जोडिने
झापाको बाहुनडाँडादेखि डडेल्धुराको रुपालसम्म निर्माणाधीन मदन भण्डारी राजमार्ग आयोजनाको केही भाग संशोधन भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमार्फत मदन भण्डारी राजमार्गको केही भाग संशोधन गरेको आयोजनाले जनाएको छ ।
संशोधित आयोजना मदन भण्डारी लोकमार्ग सुर्खेतको बोटेचौरदेखि सल्यान हुँदै रोल्पा जोडिने छ । आयोजनाका अनुसार बोटेचौर–कुपिण्डे ताल–बालुवा–सितलपाटी–दमाचौर–रोल्पाको जिनाबाङ–घर्तिगाउँ–माडीचौर–घोडागाउँ–प्यूठान हुँदै गुल्मी जोडिने छ । यसअघि सुर्खेत–दाङ–प्यूठान हुँदै गुल्मी जोड्ने प्रस्ताव गरिएको थियो ।
सोही राजमार्ग अनुसार बोटेचौरहुँदै दाङतुलसीपुर जोड्ने अपेक्षा गरिएको थियो । संशोधिन योजना अनुसार अब मदन भण्डारी राजमार्ग सल्यान र रोप्पा हुँदै जानेछ । यससँगै सल्यान र रोल्पालाई राष्ट्रिय राजमार्गले जोड्नेछन् । हालसम्म रोल्पा र सल्यानलाई कुनै पनि राष्ट्रिय राजमार्गले छोएका थिएनन् ।
पश्चिम खण्डको डिपीआर नै बनेन्
भदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पश्चिम खण्डको डीपीआरसमेत तयार हुन सकेको छैन । सर्वेक्षणदेखि नै स्थानीयले अबरोध गरेका कारण डीपीआर तयार हुन सकेको छैन ।
‘यो वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन मात्रै तयार हुन्छ’ आयोजनाका इन्जिनियर तिमिल्सेनाले भेन, ‘स्तरोन्नतिको काम पश्चिम खण्डमा अर्काे बर्षदेखि सुरु हुन्छ ।’ डीपीआर लगायतका प्राविधिक काम सकिएपछि मात्रै पश्चि खण्डको सडक स्तरोन्नति हुने छ ।
सुरुमा स्थानीयबीच विवाद हुनु र विवाद समाधानपछि वातावरणीय प्रभाव मूल्याङ्क कार्यविधि परिमार्जन भएका कारण पश्चिमको प्राविधिक काम गर्न ढिलाई भएको हो । पश्चिम खण्डको पञ्चपुरीको खम्बगाडे पलैटे, बराईचे हुँदै बाबियाचौर जोड्नुपर्ने कि खम्बगाडे शिवधाम बाबियाचौर हुँदै बाबियाचौर जोड्नुपर्ने भन्ने विषयमा विवाद भएको थियो ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ । राजमार्गले बराहताल गाउँपालिकाको बड्डिचौर हुँदै वेनिघाट जोड्छ ।






