जुम्ली खसभाषाका वर्णहरूलाई अन्तिम रूप दिइँदै

जुम्ला । जुम्ली खस भाषाको वर्ण तयार पारिँदै छ। स्थानीय खसभाषाका जानकार तथा स्थानीयहरुको सहभागितामा तयार भएको मस्यौदाको अन्तिम रूप दिनका लागि खस जुम्ली भासाको वर्ण प्रवर्धन कार्यान्वयन कार्यक्रम भएको छ ।
६ वटा स्वर वर्ण र २९ वटा व्यन्जन वर्णको वर्णमालाको मस्यौदा तयार गरी अगाडि बढेको छ। मातृभाषा केन्द्रको पहलमा ४ वर्ष अघिदेखि शुरु गरिएको वर्णको मस्यौदालाई अन्तिम रुप दिन जुम्लामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । मातृभाषा केन्द्रले शुरुवात गरेको मस्यौदाको अन्तिम रुप दिन भने हिमाली आदीवासी समाज जुम्ला पुगेको थियो ।
जुम्लामा स्थानीय खस भाषा जानकारहरुसँगको छलफलमा सूझाव संकलन तथा तयार भएको बर्णको प्रवर्धनका लागि सूझाव संकलन तथा अभ्यास कार्यक्रम गरिएको सहजकर्ता कर्णबहादुर भण्डारीले बताए । उनले भने, ’जुम्ली खस भाषाको संरक्षणका लागि यो वर्ण तयार गरिएको छ।’

लामो समयदेखि खस भाषाको संरक्षणका लागि लिखित वर्ण तयार हुन नसकेका कारणले कतिपय अक्षर र शब्दमा अन्योल भईरहेको समयमा अव पूर्णता पाउने भएको हिमाली आदीवासी सामाजका केन्द्रीय संयोजक टासि छिरिङले बताए । उनका अनुसार अब खस भाषाको वर्ण कार्यान्वयन गर्न सरकारीस्तरमा लिइनेछ ।
नेपाल सरकार, संघीय सरकार र स्थानीय सरकार सँग समन्वय गरी कार्यान्वयनका लागि अघि बढाईने भएको हो । खस भाषामा २९ वर्ण मात्रै हुने भएका छन् । हाल चल्तीमा रहेको ३६ वटा देवनागरिलिपी मध्य ञ, ण, क्ष, त्र ज्ञ, श, ष खस भाषामा प्रयोग नहुने गरी मस्यौदा आएपछि ण मा भने पछाडिको अक्षर शब्द आउने भएको सहभागीहरुले सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाईले केही शब्द आउने भएकाले ण नहटाउदा उपयूक्त हुने सुझावसमेत दिए। शिक्षाविद्ध तथा खस भाषाका जानकार लोकराज चौलागाईले खस भाषाको बर्ण चाडै बजारमा आउन आवश्यक रहेको बताए । उनले, यसले अन्तिम रुप दिएपछि स्थानीय सरकार र शिक्षा सँग सरोकार राख्ने संस्थाहरुको सहकार्यमा कार्यान्वयनमा लिनुपर्ने बताए ।
यो वर्ण तयार गर्न स्थानीय भाषाका जानकार तथा शिक्षाविद्धहरु लोकराज चौलागाई, गणेश प्रसाद चौलागाई, मुनिचन्द्र न्यौपाने, रमानन्द आचार्य, पूर्णसिंह कठायत, वलिराज शाहीसहित स्थानीय पत्रकारहरु, हाल शिक्षा क्षेत्रमा उच्च क्षेत्रमा अध्ययन गरिरहेका र अनुभवि व्यक्तिहरुको सहभागितामा ३ वर्ष अघि दुई, तिन चरणमा छलफल गरी वर्ण तयार गरिएका छन् ।
त्यस्तै, स्वर वर्णमा अ आ इ उ ए र ओ बाट मात्रै खस भाषा बोलिने भएकाले स्वर वर्ण कायम गरिएको छ । वर्णको अन्तिम रुप दिन तथा छलफलबाट निश्कर्ष गर्नका लागि स्थानीय तथा दुई दशकभन्दा बढी पत्रकारिता क्षेत्रमा काम गरेका पत्रकार कर्ण भण्डारी र स्थानीय हरिप्रसाद कुमाईलाई सहजकर्ताको जिम्मेवारी पनि दिइएको छ ।






