ब्राउनसुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती पुर्पक्षको लागि थुनामा

काठमाडौं । तुलसीपुरमा ब्राउन सुगरसहित पक्राउ परेकी तुलसा पोखरेललाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालत दाङले ब्राउन सुगरसहित पक्राउ परेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४२ बर्षीया तुलसा पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए ।

अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलाशले थुनछेक आदेशमा लागुऔषध ब्राउनसुगरको कारोबारमा संलग्न भएको आधार देखिने भन्दै पुर्पक्षकालागि थुनामा पठाएको हो । एसपी चन्दले पक्राउ परेकी पोखरेललाई कारागार पठाइएको बताए । पोखरेलले चलाउने स्कुटरको डिक्की खोल्दा तराजुसहित ब्राउन सुगर गएको फागुन १६ गते प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कि भित्र राखेको अवस्थामा प्लाष्टिकसहित तौलगर्दा २.२२ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।
इलाका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा पोखरेलको स्कुटरमा प्रतिबन्धित लागुऔषध बरामद गरेपछि पोखरेललाई नियन्त्रणमा लिएको थियो ।
पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधिश हुन् । थुनामा पठाइएकी पोखरेलले मात्रै कारोवार गर्न सक्ने प्रयाप्त आधार नदेखिएपनि प्रहरीले उनको परिवार र श्रीमानलाई भने अनुसन्धान गर्न छुटाएको छ ।
उनले कसको सहायताले कारोवार गर्थिन् भन्ने बारेमा प्रहरी मौन रहेको छ। सुर्खेतमा रहेका श्रीमानलाई पनि प्रहरीले एक पटक पनि सोधपुछ नगरी जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धानको फाइल पठाएको थियो ।






