चीनबाट खोप आयो, वितरण कसलाई गर्ने थाहा छैन

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप सोमबार नेपाल आइपुग्यो। चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भोरोसेल’ खोपको आठ लाख मात्र नेपाललाई अनुदानमा उपलब्ध गराएको हो।

चीन सरकारले खोप उपलब्ध गराएपनि नेपाल सरकारले भने त्यो खोप कसलाई लगाउने भन्ने विषयमा कुनै योजना बनाएको छैन। यसअघि सरकारले पहिलो चरणमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको थियो भने त्यसपछि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप उपलब्ध गराएका थियो।

तर चीन सरकारले सोमबार नेपाल सरकारलाई उपलब्ध गराएको आठ लाख डोज खोप वितरणसम्बन्धी कुनै योजना नबनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । ‘चीन सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्ध खोप कसलाई लगाउने भन्ने विषयमा योजना बनाइरहेका छौं,’ डा. गौतमले भने, ‘यसअघि योजना बनाएरै खोप वितरण गरिएको थियो। ६० वर्ष माथिको जेष्ठ नागरिकलाई पनि योजना अनुसार नै खोप लगाइएको हो। अहिले अहिले चीनले उपलब्ध गराएको खोपका कसलाई लगाउने भन्ने विषयमा योजना बनाउँछौं।’

सरकारले चीनले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप कसलाई लगाउने भन्ने योजना नबनाउँदा पहिलो डोज खोप लगाएहरुले दोस्रो डोज खोप कहिले पाउँछन् भन्ने अन्योल बढेको छ। सरकारले भने चीनले उपलब्ध गराएको खोपबारे चाँडो योजना बनाएर वितरण सुरु गर्ने बताएको छ।

छिमेकी मुलुक भारतका कोरोनाको दोस्रो लहर सुरु हुँदा नेपालमा पनि त्यसको प्रभाव पर्ने आँकलन भइरहेका बेला भएको खोप कसरी वितरण गर्ने भन्ने विषयमा सरकारले योजना नै बनाउन सकेको छैन । उक्त खोपलाई टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिने छ। चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन हिजो आइतबार मात्र वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो।

यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो उक्त खोपलाई दुई देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। भेरोसेल खोपलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले अनुमति दिन बाँकी रहेको छ । चीन सरकारले खोपको अनुमति प्राप्तका लागि डब्लुएचओमा निवेदन दिइसकेको छ।

नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ हजार मात्रा खोप लगाइसकेको छ। बाँकी पाँच लाख ४८ हजार मात्रा र अहिले चीनबाट प्राप्त आठ लाख मात्रा खोप रहेको छ ।

यस्तै भारत सिरम इन्स्च्यिुट कम्पनीले उत्पादन गरेको खोप ‘कोभिशिल्ड’ खोपको १० लाख मात्रा खरीद गरेको खोप अझै आइपुगेको छैन। खोप समयमा नै नआएपछि सरकारले दोस्रो चरणको खोप अभियान स्थगित गर्नुपरेको थियो ।

यसैबीच बहराइनका राजकुमार शेख नासिर विन हमाल अल खलिफाले ल्याएको कोभिड–१९ विरुद्धको दुई हजार डोज खोपलाई सरकारले मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बहराइनका राजकुमारले ल्याएको दुई हजार डोज खोज चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको कम्पनीकै रहेको पुष्टि भएकाले उक्त खोप प्रयोग गर्न प्रक्रिया पुगेको जानकारी दिए । यद्यपी उक्त खोप अब सरकारले नै आवश्यकता अनुसार प्रयोग गर्ने पनि उनले जानकारी दिए ।

चीनबाट खोप आयो, वितरण कसलाई गर्ने थाहा छैन

यस्तो छ एमालेको २६४ सदस्यीय महाधिवेशन आयोजक

चीनबाट खोप आयो, वितरण कसलाई गर्ने थाहा छैन

मंगलबार सुन चाँदीको मूल्य घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *