शिक्षामन्त्री र स्विजरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्विजरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ।
बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो।

भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्विजरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे।
मन्त्री पौडेलले प्राविधिक तथा व्यावासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्वीजरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने बताए।
‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा ९स्वाप मोडेल० विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौं,’ मन्त्री पौडेलले भने,‘ यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षासमेत गरेको छु।’
भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यावसायिक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानुन पारित गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेका छन्। उनले भने, ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यावासायिक शिक्षामा छन्,’ उनीहरू त्यहाँबाट सिधै रोजगारीमा केन्द्रीत हुन्छन् त्यहीअनुसार शिक्षामन्त्रालयले कानुन निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो।’
स्विजरल्याण्ड सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरूका लागि तालिम, रोजगार कोष परियोजा, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न छात्रवृत्तिलगायतमा सहयोग गर्दै आइरहेको छ।






