नेप्से घट्दा पनि कारोबारमा कीर्तिमान, जलविद्युत कम्पनीका लगानीकर्तालाई मालामाल

काठमाडौं : सातको अन्तिम दिन बिहीबार सेयर कारोबारमा नयाँ कीर्तिमान कायम भएको छ। नेप्से घट्दा पनि कारोबार पौने १५ अर्ब रुपैयाँ बढीको भएको छ। यो हालसम्मकै उच्च कारोबार हो।
यसअघि गत सोमबार १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बढीको सेयर करोबार भएको थियो। सोमबारको कारोबारको रेकर्ड बिहीबार तोडिएको छ। नेप्सेमा सूचीकृतमध्ये दुई सय १५ कम्पनीका चार करोड १८ लाख १३ हजार ९ सय ४४ कित्ता सेयर १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ रुपैयाँमा किनबेच भएका छन्।
बिहीबार सुरुआती चरणमा निकै तल ओर्लेको नेप्से परिसूचक कारोबारको मध्यान्तरपछि उकालो लागे पनि अन्तिममा १.२० अंकले घटेको छ। योसँगै परिसूचक दुई हजार आठसय १५.४० को विन्दुमा झरेको छ। राष्ट्र बैंकको पछिल्लो सर्कुलरका कारण आज बजारमा सामान्य उतारचढाव देखिएको विश्लेषकहरु बताउँछन्। राष्ट्र बैंकको सर्कुलरको प्रभाव लघुवित्तमा परेको छ।
बिहीबार जलविद्युत कम्पनीमा उछाल आएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये सात वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज व्यापार समूह सर्वाधिक दुई सय ८१.५३ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह एक सय ४२.२९ अंकले बढेको छ।
विकास बैंक समूहमा एक सय १४.३० अंक, वित्त समूहमा ३६.८१ अंक, जलविद्युत समूहमा एक सय ३१.७८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३२.६० अंक र म्युचुअल फन्ड समूहमा ०.०८ अंकको बढोत्तरी भएको छ।
बिहीबार लघुवित्त समूह सर्वाधिक एक सय ९१.६९ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह एक सय ३६.३६ अंकले घटेको छ। बैंकिङ समूहमा ६.४६ अंक, होटेल तथा पर्यटन समूहमा २०.०८ अंक, लगानी समूहमा ०.६७ अंक र अन्य समूहमा २४.०२ अंकको गिरावट आएको छ।





