कोरोनाबाट पूर्व सांसद रत्नप्रसाद शर्मा न्यौपानेको मृत्यु

जाजरकोट : कोरोनाको संक्रमणका कारण काठमाडौँ स्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराइरहेका पूर्व सांसद रत्नप्रसाद शर्मा न्यौपानको मृत्यु भएको छ । बुधवार राति उनको मृत्यु भएको उनका छोरा मदनरत्न न्यौपानेले बताए।
सुरुमा कोरोना संक्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए। वैशाख २३ गते सुरुमा वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना गरिएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो।
अवस्था झनै गम्भीर भएपछि शर्मालाइ १० दिन देखि न्यौपानेलाइ भेन्टिेलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताए। मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो।
छेडागाड नगरपालिका –६ सुवानाउलीका न्यौपाने २०५६ सालको प्रतिनिधि सभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र २ बाट निर्वाचित भएका थिए। अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भुमिकामा थिए।
२०४६ सालको जनआन्दोलन र २०६२, ६३ को जनआन्दोलनमा निकै सक्रिय भएर राजतन्त्रविरुद्ध सक्रिय भएका न्यौपाने जिल्लाको इमान्दार, अनुशासित नेता र एमालेका लागि कुशल संगठकको रुपमा परिचित थिए। २०४६ सालको जनआन्दोलनपछि न्यौपाने शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा लागेका थिए।साधारण जीवनशैली र मेहनती स्वभावका न्यौपानेको निधनले जिल्लालाई ठुलो क्षति पुगेको स्थानीयहरु बताउछन्।






