भेरी–बबई आयोजनामा निर्माण सामग्रीहरु जुटाउनै हम्मेहम्मे

सुर्खेत । यतिबेला कोरोनाका कारण देशभर निषेधाज्ञा छ । संक्रमणको डरले मानिसहरु घरभित्रै थुनिएका छन् । तर यस्तो जोखिममा पनि विकास निर्माणका कामहरु भने रोकिएका छैनन् । सुरक्षा सावधानी अपनाएरै भए पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीति छ । यही नीति अनुसार ठूला विकास आयोजनामा काम रोकिएको छैन ।

विकास निर्माणका गतिविधिहरु संचालन भइरहेको भए पनि कतिपय आयोजनाहरुमा निर्माण सामग्रीको अभाव हुन थालेको छ । निर्माण सामग्रीकै अभावमा आयोजनाको काम पनि प्रभावित हुन थालेको हो । झण्डै एक महिनाको निषेधाज्ञाका कारण उत्पादक कम्पनीहरु नै बन्द हुँदा निर्माण सामग्रीको अभाव सुरु भएको छ । सरकारले निर्माण सामग्रीको अभाव हुन नदिने जनाए पनि राष्ट्रिय गौरवका आयोजनाहरुमा निर्माण सामग्री अभाव सुरु भएको हो ।

सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्री अभाव भएको छ । ‘रड (सरिया) अभाव भइसक्यो, सिमेन्ट पनि सकिन लागेको छ’ आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी इश्वरीप्रसाद तिवारीले भने, ‘कोरोनाका कारण निर्माण कम्पनी नै बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको हो ।’

भेरी बबई आयोजनामा ३२–३३ एमएमका सरिया प्रयोग हुन्छन् । सरियाको गुणस्तर नापजाँचका लागि आफ्नै प्रयोगशाला छ । प्रयोगशालामा गुणस्तर देखाए मात्रै सरिया प्रयोगमा ल्याइन्छ । यदी गुणस्तर नभए आयोजनाले सरियाहरु कम्पनीमै फिर्ता पठाइदिने गरेको छ । ठूलो र गुणस्तरिय सरिया मात्रै प्रयोग गर्ने भएका कारण आयोजनालाई हिजोआज सरिया अभाव भएको हो ।

‘आयोजनालाई आवश्यक पर्ने सरिया कम्पनीमै अर्डर दिनुपर्छ’ तिवारीले भने, ‘अहिले निर्माण कम्पनी नै बन्द हुँदा सरिया अभाव भएको हो ।’ सरिया अभाव भए पनि आयोजनाको काम नै रोकिएको छैन । ‘सरिया प्रयोग हुने काम त रोकिने नै भयो, तर अहिले आयोजनाको काम नै ठप्प पार्नुपर्ने अवस्था छैन’ उनले भने, ‘निषेधाज्ञा लम्बिदै गयो भने भन्न सकिन्न ।’  निषेधाज्ञाका कारण निर्माण सामग्री अभाव भएको खण्डमा आयोजना तोकिएको समयभन्दा लम्बिन सक्नेछ । उसो त गत बर्षको कोरोना महामारीका कारण पनि आयोजनामा असर परेको छ । कोरोनाले गर्दा यो आयोजनाको निर्माण थप लम्बिने देखिएको हो ।

संक्रमणबाट जोगिन भेटघाट पनि बन्द

कोरोना संक्रमणबाट जोगिनका लागि आयोजनामा कार्यरत मजदुरलाई बाहिरका व्यक्तिसँग भेटघाट गर्न प्रतिबन्ध लगाइएको छ । आयोजनामा ६० भन्दा बढी स्थानीय मजदुरहरु कार्यरत छन् । निषेधाज्ञामा पनि राती र दिउँसोेमा गरेर दुबै सिफ्टमा काम भइरहेको छ ।

आयोजनामा कार्यरत मजदुरमा कोरोना संक्रमण हुन नदिन सबै मजदुरलाई क्याम्पमै बसोबासको व्यवस्थापन गरिएको छ । आयोजनामा हाल बाँध र पावर हाउस (विद्युतगृह) निर्माणको काम जारी छ । बाँध निर्माणतर्फ क्याम्प, क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट लगायतका कामहरु भइरहेको हो ।

भेरी नदीको पानी (भेरीगंगा नगरपालिका–९ चिप्लेबाट भेरीगंगा–१ को हात्तीखाल) बबईमा खसालिने छ । आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ र हात्तीखालमा ४८ मेगावाट विजुली उत्पादन गर्ने योजना छ ।
मुख्य रुपमा सिँचाइका लागि बनाइएको यो आयोजनाबाट वार्षिक करिब चार अर्ब तीन करोड बराबरको बिजुली उत्पादन हुने अनुमान गरिएको छ । आयोजना सम्पन्न गर्न कुल ३३ अर्ब १९ करोड खर्च हुने अनुमान छ ।

भेरी–बबई आयोजनामा निर्माण सामग्रीहरु जुटाउनै हम्मेहम्मे

दश महिनामा विकास बजेट खर्च जम्मा १९

भेरी–बबई आयोजनामा निर्माण सामग्रीहरु जुटाउनै हम्मेहम्मे

YUGAAWHAN NATIONAL DAILY (2078-02-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *