गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपरौँ : बार अध्यक्ष

काठमाण्डौ : नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताउनुभएको छ ।
आज आइतवार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने बताउनुभएको हो । न्याय परिषद्बाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेको र त्यही अधिकारमार्फत आफू अनुकूलको काम गर्न सक्ने उहाँको भनाइ छ ।
गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उहाँको आग्रह छ । अध्यक्ष श्रेष्ठले चोलेन्द्रशम्शेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले न्याय सम्पादनमा प्रधानन्यायाधीशलाई त हटाउने काम गर्न खोजिएको छ । तर बिचौलियाहरूलाई पाल्ने काम न्याय प्रशासनको, न्याय परिषद्बाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि प्रधानन्यायाधीशले लिइराखेका छन् । त्यो नखोसिएसम्म प्रधानन्यायाधीश त ढुक्क भएर बस्लान्, उनले खान पाउने तरिका त अर्को छँदैछ ।
त्यस कारणले गर्दा यो रोक्नका लागि उनलाई न्याय प्रशासनबाट पनि जबसम्म खोसिँदैन तबसम्म हामीले गोला प्रणालीको आधारबाट अब उनको नङ्ग्रा र दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन । अर्को चपाउने दाँत छ । सरुवा काजमार्फत न्यायाधीशहरूलाई थर्काउने काम भइराखेको हुन्छ । न्याय प्रशासन र न्याय सम्पादनमा जबसम्म प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा हट्दैनन्, तबसम्म यो आन्दोलन कायम रहन्छ ।’






