एमाले सांसद पार्वतीकुमारी विशुन्के भन्छिन्- म पार्टी अध्यक्षको पक्षमा छु

नेकपा एमालेकी सांसद पार्वतीकुमारी विशुन्केले पार्टी फुट्ने डरलाग्दो दृष्य देखेकाले आफू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेको बताएकी छन् ।सांसद विशुन्केले आफू कुनै पनि गुटमा नलागी मूल पार्टीमै रहनेसमेत बताइन् । ‘पार्टी फुट्ने संकेत देखिएको छ । हाम्रो पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी शर्मा ओली नै हो ।
पार्टीलाई एकतावद्ध बनाउन मूल नेतृत्वलाई सहयोग गर्नुपर्छ,’ उनले भनिन्,’म नेकपा एमालेको पक्षमा छु। मलाई स्पष्टीकरणसमेत नसोधिएकाले अब माधव नेपालले मलाई गुटका भेलामा बोलाउनु हुन्नहोला ।’

उनले पार्टी विभाजन भए जनतमको अपमान हुनेसमेत बताइन् । माधव नेपाल पक्षधर २७ जना सांसदलाई प्रधानमन्त्री ओलीले मंगलबार स्पष्टीकरण सोधेका थिए । विशुन्के स्पष्टीकरण सोधिएका सांसदहरूको सूचीमा छैनन् ।
नेपालका पक्षमा रहँदै आएका ३५ सांसदमध्ये गोकर्ण बिष्ट, राजबहादुर बुढा, गंगा चौधरी सत्गौवा, ध्रुव शाही, कलिला खातुन, समिना हुसेन र बिना बुढाथोकीलाई ओलीले स्पष्टीकरण सोधेका छैनन्।






