भारतबाट गाउँ भित्रिनेहरुबाट कोरोना संक्रमणको जोखिम धेरै

सुर्खेत । दैलेखको दुल्लु नगरपालिकाका ३८ बर्षे पुरुष १८ दिनअघि भारतबाट गाउँ फर्किए । भारतमै हुँदा उनी संक्रमित भए । तर अवस्था अप्ठेरो थिएन । त्यहीबिचमै उनी गाउँ फकिए । किनकी भारतमा कोरोनाको संक्रमण उच्च थियो ।

यही कारण उनले गाउँ नै सुरक्षित ठाने । गाउँ फर्कदै गर्दा नेपालगञ्जको रुपैडिहा नाकामा कोरोना परीक्षण गराए । चेक गर्दा एन्टिबडी पोजेटिभ अर्थात कोरोना संक्रमण देखियो । तर उनले अप्ठेरो महशुस गरेनन् । अवस्था सामान्य लाग्यो । र आफू कोरोना पोजेटिभ भएको खबर कसैलाई सुनाएनन् ।

तर अवस्था उनले सोचेजस्तो भएन । बैशाख ४ गतेसम्म आइपुग्दा अवस्था गम्भीर बन्यो । असहज महसुस भएपछि उनी उपचारका लागि दुल्लु अस्पताल पुगे । अस्पताल पुग्दा पनि आफू कोरोना संक्रमित भएको जानकारी दिएनन् । कोरोनाको आंशकामा स्वास्थ्यकर्मीले दैलेख जिल्ला अस्पताल वा सुर्खेत लैजान सुझाव दिए ।

तर सुर्खेत ल्याउने तयारी गर्दै गर्दा बैशाख ४ गते उनको मृत्यु भयो । मृत्युपछि उनी कोरोना संक्रमित रहेको थाहा भयो । नेपालगञ्जको सीमा नाकामा गरिएको परीक्षणमा उनी कोरोना संक्रमित रहेको पुष्टि भयो । कोरोना संक्रमित भएको जानकारीपछि भेटघाट गरेका आफन्त, स्वास्थ्यकर्मीहरु आइसोलेसनमा बसेका छन् ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीका अनुसार उनीसँगै गाउँ फर्किएका केही व्यक्तिहरुमा पनि संक्रमण देखिएको छ । संक्रमितहरु भने खत्तरामुक्त छन् । कोरोना संक्रमित नै सुटुक्क गाउँ फर्कन थालेपछि दैलेखमा गत बर्षकै अवस्था आउन सक्ने आँकलन गरिएको छ ।

‘भारतबाट आउने नागरिकका कारण गत बर्ष कर्णाली प्रदेशभर दैलेखमा कोरोना संक्रमण उच्च भएको थियो, यो वर्ष पनि उस्तै अवस्था आउने देखिन्छ’ रेग्मीले भने, ‘पछिल्लो समय भारतदेखि गाउँ फर्केकाबाटै कोरोना संक्रमण फैलिने डर छ ।’ रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ की ४० बर्षिया महिला एक हप्ताअघि भारतबाट फर्किन् ।

भारतमा कोरोनाको अवस्था भयाभह हुने संकेतपछि उनी गाउँ फर्किन् । तर गाउँ फर्किए पनि कोरोनाबाट बच्न सकिनन् । गाउँ फर्किएको हप्तादिनमै स्वास्थ्यमा समस्या आयो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उपचारका लागि शनिबार जिल्ला अस्पताल सल्लेमा पुगिन् । स्वास्थ्यकर्मीले कोरोनाको आशंकामा एन्टबडी परीक्षण गरे । परीक्षणपछि उनको कोरोना देखियो ।

तर अवस्था सामान्य थियो । भेन्टिलेटर तथा आइसुयीमा राख्नुपर्ने अवस्था थिएन । शनिबारदेखि दुई दिनसम्म अस्पतालमै आराम गरिन् । तर सोमबार उनले कोरोनालाई जित्न सकिनन् । कोरोना पुष्टि भए पनि अवस्था सामान्य थियो, आइसोलेसनमा राखेर उपचार गरेका थियौँ’ जिल्ला जन स्वास्थ्य सेवा कार्यालय रुकुमका कोरोना फोकलपर्सन ईश्वर रावलले भने, ‘एक्कासी गम्भीर समस्या देखियो, रिफर गर्ने तयारी गर्दागर्दै मृत्यु भयो ।’

उनीसँगै गाउँ फर्किएका अन्य व्यक्तिमा पनि कोरोना देखिएको छ । अवस्था जटिल भएका एक जनालाई सुर्खेतमा उपचार भइरहेको छ । ‘भारतबाट आएकामा कोरोना देखिन थालेको छ’ रावलले भने, ‘गाउँ फर्कनेक्रम बढेपछि संक्रण तीब्र गतिमा फैलिने खत्तरा छ ।’ दैलेख र रुकुमपश्चिमा मात्रै होइन । कर्णालीका अन्य जिल्लामा पनि भारतबाट गाउँ फर्कनेहरु बढेका छन् । संक्रमण उच्च भएपछि रोजीरोटीका लागि भारत पुगेकाहरु अहिले गाउँ फर्कन थालेका छन् ।

गाउँ फर्केकाहरु कोही कोरोना लुकाए फर्कन्छन् त कोही गाउँ पुगेपछि सावधानी अपनाउँदैनन् । गाउँमा गत वर्षजस्तो कोरोनाको त्रास छैन । सरकारले नागरिक सुरक्षाका उपायहरु अपनाउन आग्रह गर्दै आएको छ । कर्णालीका कुनै पनि जिल्लामा क्वारेन्टाइनहरु निर्माण गरिएका छैनन् । गत बर्ष खासै महामारी नभोगेका नागरिकले कोरोनालाई गत बर्षकै जस्तो ठानेका छन् ।

यही नाकामा सामान्य चेकजाँच गरेर गाउँ फर्केकाहरु सुरक्षा सावधानी अपनाउँदैनन् । तर अवस्था गत बर्षको जस्तो छैन । कोरोनाले आफ्नो रुप बदलेको छ । गत बर्षको तुलनामा संक्रमितहरुले ख्यालख्यालमै ज्यान गुमाउनु परेको छ । एकातिर सुरक्षा असावधानी, अर्काेतिर जटिल प्रकारको संक्रमण ।

यही कोरोना संक्रमण बढ्दो क्रममा छ । कर्णालीका अधिकांश युवाहरु रोजगारीका लागि भारतको विभिन्न ठाउँमा पुगेका छन् । भारतमा संक्रमण फैलिएपछि गाउँ फर्कनेको ताँती नै लाग्न थालेको छ । परिणामतः कर्णालीमा पनि भारतबाट आएका नागरिकबाट कोरोना फैलिने खत्तरा बढेको छ ।

वीरेन्द्रनगरमा बढे सक्रिय संक्रमित

कर्णाली प्रदेशभर संक्रमितको संख्या एकसय बढी पुगेको छ । मंगलबारसम्मको तथ्याङ्क अनुसार कर्णालीमा कुल संक्रमितको संख्या एकसय ३८ पुगेको छ । तिमध्ये मंगलबार मात्रै ५३ जना नयाँ संक्रमित हुन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलबार मात्रै सुर्खेतका ४४, दैलेखका ६, हुम्ला, कैलाली र लमजुङका एक÷एक जना छन् । कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुर्खेतमा हालमा हाल एकसय २७ जना, दैलेखमा १० जना र जाजरकोटमा एक जना छन् । संक्रमितमध्ये १५ जनाको अवस्था गम्भीर छ । गम्भीर संक्रमितको उपचार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भइरहेको छ ।

ट्यूसन सेन्टर बन्द, रेष्टुरेन्टमा मापदण्ड

यस्तै कोरोना संक्रमण बढ्न थालेपछि वीरेन्द्रनगरमा उच्च सतर्कता अपनाइने भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र (विद्यालय, कलेज ट्यूसन सेन्टर, तालिम केन्द्र) हरु बैशाखभरी बन्द गर्ने र होटल तथा रेष्टुरेन्टहरुमा जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य गरेर सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

तर पूर्वनिर्धारित विद्यालय तथा कलेजका परीक्षाहरु भने रोकिने छैनन् । होटल तथा रेष्टुरेन्टहरु विहान ८ बजेदेखि साँझ ८ बजेसम्म खोल्न पाउने, कामदारहरुले अनिवार्य रुपमा मास्क, भाइजर र पन्जा लगाउने सेनिटाइजरको व्यवस्था र दुई मिटरको भौतिक दुरी कायम गर्ने साथै होटल, रेष्टुरेन्टलाई नियमित रुपमा गर्ने निर्णय गरेको छ ।

ह्कुनै पनि सार्वजनिक समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट संचालन गर्नुपर्ने निर्णय गरेको छ । सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सम्वन्धी मापदण्ड पालना भए नभएको अवस्थाको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको छ ।

भारतबाट गाउँ भित्रिनेहरुबाट कोरोना संक्रमणको जोखिम धेरै

एमाले सांसद पार्वतीकुमारी विशुन्के भन्छिन्- म पार्टी

Leave a comment

Your email address will not be published. Required fields are marked *