सहिद स्मारक लिग : आज दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
दुवै टिम जित निकाल्दै सिजनको सुखद् सुरुवात गर्ने योजनामा छन् । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रँदा संकटाको कप्तानी रबि सिलवालले सम्हाल्ने छन् ।
आजै साँझ पौने ५ बजे हुने दोस्रो खेलमा उपाधि दाबेदार थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच भिडन्त हुनेछ। थ्री स्टार विक्रम लामाको कप्तानीमा मैदान उत्रिँदा च्यासलको कप्तानी बिराज महर्जनले सम्हाल्ने छन् । पहिलो खेल भएकाले दुबै टिम जितको खोजीमा हुनेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार नवप्रवेशी सात दोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।






