‘प्रदेश अस्पताल केन्द्र मातहत लैजान खोज्नु संघीयतामाथि प्रहार’

सुर्खेत ।  प्रदेश अस्पताल सुर्खेतलाई केन्द्र सरकारले आफ्नो मातहतमा लैजाने तयारी गरेपछि त्यसको विरोध भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा आइसकेको अस्पताललाई फेरि केन्द्र मातहतमा लिन खोजेपछि यहाँका राजनीतिक दलहरुले यसलाई संघीयताको मर्ममाथि नै प्रहार भएको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले यसको कडा रुपमा विरोध गरेको छ । माओवादी केन्द्रका नेता एवम् कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले प्रदेश सरकारबाट अस्पताल खोस्ने काम गलत हुने बताए । उनले केन्द्रले सहयोग गर्नुको साटो प्रदेश सरकारको मातहतमा रहेको अस्पताल खोसेर लैजाने काम संघीयता विरोधी भएको बताए । अस्पताल केन्द्रको मातहतमा लैजानु गलत हुने उनको प्रतिक्रिया छ ।

यस्तै नेपाली काँग्रेस सुर्खेतका सभापति कलमराज रेग्मीले प्रदेश अस्पताल संघको मातहतमा लैजाने काम संघीयतामाथि नै प्रहार गर्न खोजिएको बताए । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउन संघीयता ल्याइएको हो’ उनले भने, ‘कम्युनिष्टहरुको लडाइँका कारण संघीयतामाथि नै प्रहार हुन थाल्यो ।’ कोरोना महामारीको बेलमा अस्पतालमा राजनीति गर्न नहुने उनको भनाइ छ ।

माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले पनि प्रदेश अस्पताललाई प्रदेश सरकारकै मातहतमा राख्दा उपयुक्त हुने बताए । ‘प्रदेशमा आइसकेका संरचनाहरुलाई फेरि संघमै लैजानु संघीयतामाथिको प्रहार हो’ उनले भने, ‘प्रदेश अस्पताललाई प्रदेश सरकारले नै सञ्चालन गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्दछ ।’

तर नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले भने कोरोना महामारीमा अस्पताललाई विवादमा तान्न नहुने बताउँछन् । ‘हुन त ठूलठूला आयोजनाहरु संघकै मातहतमा रहँदा राम्रो हुन्थ्यो’ उनी भन्छन्, ‘हिजो प्रदेशमा ल्याउँदा पनि हतार गरियोे, आज महामारीको बेलाको बेला फेरि संघमै लैजान्छौं भन्नु पनि गलत हो ।’ अस्पताल केन्द्र मातहतमा लिने प्रयासमा स्वास्थ्यकर्मी पनि खुशी छैनन् ।

‘अहिले त कर्णालीमा प्रोत्साहन भत्ताका कारण पनि धेरै डाक्टरहरु यहीँ बस्न रुचाउनुहुन्छ’ प्रदेश अस्पतालका एक कर्मचारीले भने, ‘संघले भत्ता दिँदैन, अनि डाक्टर पनि आउँदैनन् ।’ डाक्टर नै नभएपछि केन्द्रले सेवाहरु थप गर्छ भन्नु मुर्खता हुने ती कर्मचारीको तर्क छ ।

‘प्रदेश अस्पताल केन्द्र मातहत  लैजान खोज्नु संघीयतामाथि प्रहार’

एमालेका नेता सतमान पुनको काेराेनाबाट मृत्यु

‘प्रदेश अस्पताल केन्द्र मातहत  लैजान खोज्नु संघीयतामाथि प्रहार’

महामारी नियन्त्रण र ठूला आयोजनालाई प्राथमिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *