काम समयमै गर

विकास निरन्तर हुने हो । तर यसको गति भने कम र बढी हुन्छ । अर्थात काम गर्ने निकायहरु गम्भिर भएर काम गरे भने विकासको गती तीव्र पनि हुन्छ । तर नेपालमा विकासको गति कमजोर छ । तोकिएको समयममा काम भएका घटना औंलामा गन्न सकिने मात्र छन् ।

अधिकांश विकास आयोजनाहरु समयमै काम नहुने, बिचमै अलपत्र पर्ने र बजेट मात्र खेर जाने समस्या  छ । यही समस्या देशभर छ । त्यसमा पनि भौतिक विकासमा पछाडि परेको कर्णालीको अवस्था अझ दयनीय छ । वर्षौंसम्म पनि आयोजनाहरु निर्माण पूरा हुँदैनन् । निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी फरार हुने, राजनीतिक रुपमा संरक्षण हुने र तोकिएको अवधिमा काम सम्पन्न नहुने समस्या छ ।

यही कारण आज अधिकांश भौतिक निर्माणका कामहरुले गति लिन सकेका छैनन् । विकासको आशमा रहेका नागरिक केवल कागजी सपनाहरु मात्र सुन्न बाध्य छन् ।
सुर्खेत कर्णाली प्रदेशको राजधानी । प्रदेश राजधानी भएकाले पनि यहाँको विकास निर्माणमा सबैको चासो हुने नै भयो । अझ राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने पनि हुन्छ ।

प्रदेश राजधानी भएपछि कतिपय योजनाहरु अगाडि बढाइएका छन् । कतिपय योजनाहरु हिजो पनि थालिएका थिए । तर विगतमा अगाडि सारिएका कतिपय आयोजनाहरु लामो समयसम्म अगाडि बढ्न सकेनन् । समयमै काम नहुँदा सुरु भएका योजनाहरुको काम पूरा भएन । कहिले बजेट अभाव, कहिले राजनीतिक खिचातानी र कहिले ठेकेदारको लापरबाहीले गर्दा धेरै आयोजनाहरु अहिले पनि अधुरा छन् ।

पछिल्लो समय सुर्खेतमा एउटा गौरवको आयोजना अगाडि बढ्न थालेको छ । देशलाई पूर्वबाट पश्चिमसम्म जोड्ने मदन भण्डारी राजमार्गले सुर्खेतलाई पनि छाएको छ । लामो प्रतिक्षापछि यो राजमार्गको काम अगाडि बढ्ने संकेत देखिएको छ । वीरेन्द्रनगरबाट पूर्वतर्फ धुलियाबिटबाट भेडाबारीसम्म जोड्ने यो सडक खण्डको स्तरोन्नतिका लागि टेन्डर नै भएको छ ।

सडकको स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया अगाडि बढेपछि सडकको सुधार हुने अपेक्षा गरिएको छ । वर्षौंदेखि धुलाम्य र हिलाम्य हुने यो सडक अब कालोपत्रे हुने आश पलाएको छ । अर्कोतर्फ वीरेन्द्रनगरबाट पश्चिमतर्फको खण्डमा भने विवाद छ । यसले सो क्षेत्रको काम कहिले अगाडि बढ्छ यसै भन्न सकिने अवस्था छैन ।

यो राजमार्ग अर्थात जिल्लाको पूर्वदेखि पश्चिमसम्म जोडिएको यो सडकको स्तरोन्नति भएको खण्डमा जिल्लाको विकासमा गति बढ्ने छ । यसकारण यो आयोजनाको काम समयमै सक्न र काम अगाडि बढाउन यहाँको राजनीतिक नेतृत्व, प्रकासनिक निकाय, जनप्रतिनिधि, स्थानीय र प्रदेश सरकारले बढी चासो दिनु आवश्यक छ ।

योजना अगाडि बढाएर मात्र पुग्दैन । त्यसलाई कार्यान्वयन गर्नेतर्फ अझ प्राथमिकता दिइनु पर्दछ । यसकारण मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको काम तोकिएकै समयमा सक्न सरोकारवाला सबैले गम्भिर बन्नै पर्दछ ।

काम समयमै गर

विद्यार्थी संगठनको सान्दर्भिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *