वीरेन्द्रनगरका शैक्षिक संस्थाहरु बन्द गर्ने केन्द्र सरकारको निर्णय

सुर्खेत । कोरोनाको दोस्रो लहर सुरु भएसँगै यसको मारमा सबैभन्दा बढी शैक्षिक संस्थाहरु परेका छन् । केहीदिन अगाडिबाट विद्यालयमा कोरोना फैलिएको छ । कोरोना संक्रमणका कारण बालबालिका र शिक्षकहरु पीडित बनेका छन् । शैक्षिक संस्थाहरुमा संक्रमणको दर एकाएक बढेपछि सरकारले विद्यालय र कलेजहरु बन्द गर्ने निर्णय गरेको छ ।

यही क्रममा केन्द्र सरकारले देशका ठूला सहरमा रहेका शैक्षिक संस्थाहरुमा एक महिनासम्म पठनपाठन रोक्ने निर्णय गरेको छ । जसअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय सरकारले गरेको हो । वीरेन्द्रनगरका विद्यालयहरुमा केही दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।

यही कारण पनि थप जोखिम रोक्न सरकारले यही बैशाख मसान्तसम्मका वीरेन्द्रनगरका सबै शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको हो । कोरोनाको संक्रमण बढेपछि आज (मंगलबार) देखि वीरेन्द्रनगरका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् । संक्रमणका कारण पुनः शैक्षिक संस्था चेपटामा पर्ने देखिएका छन् ।

शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णयसँगै यसपाली पनि शैक्षिक सत्र प्रभावित हुने देखिएको छ । अघिल्लो वर्ष लकडाउनका कारण ढिला मात्र सु्रु भएको शैक्षिक सत्र यसपाली पनि प्रभावित हुने संकेत देखिएको हो । विद्यालय र कलेज बन्द हुने भएपछि परीषाको तयारीमा रहेका विद्यार्थीहरु समस्यामा पर्ने भएका हुन् । विद्यालयहरु बन्द भएपछि सरकारी विद्यालयका बालबालिकाहरु अध्ययन विद्यार्थीहरु बढी प्रभावित हुने भएका छन् ।

प्रायः सरकारी विद्यालयमा अनलाइन कक्षा सञ्चालनका लागि एकातिर पर्याप्त स्रोत साधान छैनन् भने अर्काेतर्फ सबै विद्यार्थीहरु अनलाइनको पहुँचमा छैनन् । यही कारण सरकारी विद्यालयहरुको कोरोनाको मारमा परेका हुन् । बार्षिक परीक्षा नजिकिंदै गर्दा विद्यालय बन्द भएपछि सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले मारेमा खेप्नुपर्ने देखिएको छ ।

यस्तै कोरोनाका कारण निजी विद्यालयहरु भने आर्थिक मारमा पर्ने भएका छन् । निजी शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरु अनलाइन कक्षा सञ्चालन गर्न सक्ने भए पनि शुल्क उठाउन नपाउने भएका कारण आर्थिक मारमा पर्ने देखिएका हुन् । अघिल्लो बर्ष झण्डै आठ महिनासम्म बन्द रहेका विद्यालयहरु पुनः बन्द भएपछि ऋणमा डुब्नुपर्ने अवस्था सिर्जना भएको छ ।

‘अघिल्लो बर्ष आठ महिनासम्म विद्यालय बन्द गर्नुपर्ने अवस्था आयो’ निजी विद्यालय अर्गनाइजेशन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले भने, ‘विद्यालय बन्द समग्र शिक्षा क्षेत्र र त्यसमा पनि निजी शैक्षिक संस्था प्रभावित हुने निश्चित छ ।’ यद्यपी अघिल्लो बर्षको सिकाइबाट केही सहज हुने उनको अपेक्षा छ । लकडाउन नहुँदासम्म विद्यालयरु बन्द गर्न उपयुक्त नहुने उनको तर्क छ । बन्दका कारण अभिभावकबाट शुल्क उठाएर सञ्चालन भएका निजी विद्यालयहरुलाई थप आर्थिक भार पर्नेछन् ।

‘विद्यार्थीलाई सम्पर्कमा राखौं’

विद्यालय बन्द भए पनि विद्यार्थीहरु नियमित शिक्षकको सम्पर्कमा रहनुपर्ने सरोकारवालाहरु बताउँछन् । ‘बार्षिक परीक्षा नजिकिदै गर्दा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ’ वीरेन्द्रनगरस्थित अमरज्योति माध्यमिक विद्यालयका प्राधानाध्यापक खगेन्द्र थापाले भने, ‘यस्तो अवस्थामा विद्यार्थीलाई खुल्ला नछोडौँ, नियमित सम्पर्कमै राखौं ।’

केही विद्यार्थीमा कोरोना देखिएपछि सोमबारदेखि अमरज्योति विद्यालय बन्द गरिएको छ । तर हप्तादिनपछि विद्यालय सञ्चालन कार्यविधि २०७७ अनुुसार आलोपालो कक्षा सञ्चालन गर्न सकिने उनको तर्क छ । ‘केहीदिनका लागि मात्रै विद्यालय बन्द गरिएको हो’ उनले भने, ‘हप्ता दिनपछि आवश्यक सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गछौँ ।’ कोर्ष पुरा भइसकेका कारण परीक्षा केन्द्रित पढाइलाई नियमित गर्नुपर्ने उनको सुझाव छ ।

त्रिविका परीक्षा नरोकिने

सरकारले स्कुल बन्द गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नरोक्ने भएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आइतबारबाट परीक्षा सञ्चालन गरिसकेकोले नरोक्ने जानकारी दिए । उनका अनुसार अहिले मानविकी,व्यवस्थापन र शिक्षा संकायको दोस्रो वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

‘यो वार्षिक परीक्षा हो त्यसैले परीक्षा रोकिँदैन’ उनले भने,‘पढाइ भने अब रोकिन सक्छ ।’ सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर अति प्रभावित जिल्लाहरु काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अस्पतालहरु तयारी अवस्थामा राख्न निर्देशन

संक्रमण बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाली रहेकी विमला केसीको अध्यक्षतामा प्रादेशिक स्वास्थ्य आपतकालीन निर्देशन समितिको बैठकले प्रदेशका सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

सामान्य संक्रमतिको स्थानीय तहमै उपचार गर्न सक्नेगरी तयारी थाल्ने समितिको निर्देशन छ । समितिका निर्णयहरु सार्वजनिक गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले कर्णालीका सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए ।

बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेतना कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाउनुपर्ने, नाकाबाट प्रवेश गर्ने व्यक्तिहरुलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र सामान्य लक्षण नभएका संक्रमितहरुको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

एकैदिन ५० जना संक्रमित

वीरेन्द्रनगरका ७५ जनाको परीक्षण गर्दा ५० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सबै स्थानीय हुन् । संक्रमितमध्ये केही जेष्ठ नागरिक, विद्यार्थी, शिक्षक र स्थानीयहरु हुन् । यसले वीरेन्द्रनगरमा संक्रमण उच्च भएको पुष्टि गरेको छ ।

‘हप्तादिनदेखि वीरेन्द्रनगरमा संक्रमण उच्च छ’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा प्रमुख चेतननिधी वाग्लेले भने, ‘सोमबार मात्रै ७५ जनामा परीक्षण गर्दा ५० जनालाई संक्रमण पुष्टि भयो, यसले संक्रमण उच्च रहेको पुष्टि गरेको छ ।’

वीरेन्द्रनगरका शैक्षिक संस्थाहरु बन्द गर्ने केन्द्र सरकारको निर्णय

सञ्चालनमा आएनन् सहिद पार्कका ‘फोहोरा’

वीरेन्द्रनगरका शैक्षिक संस्थाहरु बन्द गर्ने केन्द्र सरकारको निर्णय

स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

Leave a comment

Your email address will not be published. Required fields are marked *