असोज दोस्रो सातादेखि नयाँ लाइसेन्सको आवेदन खुल्ने

काठमाडौं : सवारी चालक अनुमति पत्र ( ड्राइभिङ लाइसेन्स ) का लागि असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने भएको छ। कोभिड ( १९ कारण बन्द भएको पाँच महिनापछि नयाँ आवेदन खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा गरिने आवेदन सेवा बन्द गरेको थियो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार असोज दोस्रो साताबाट नयाँ आवेदन भर्न सकिने छ।
उनले भने‚ ‘लामो समयदेखि बन्द भएको नयाँ आवेदन दोस्रो साताबाट खोल्ने छौँ, त्यसपछि सेवाग्राहीले भर्न सक्ने छन्।’ विभागले बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीहरुको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गरिरहेको छ।

विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा छ। प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटेर पूर्णाङ्क १०० रहने गरी चाररचार अंकका जम्मा २५ वटा वस्तुगत बहु उत्तर प्रश्नहरू सोधिने छन्।
लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तिर्ण हुने र प्रयोगात्मकमा १०० पूर्णाङ्क रहेकोमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ। यो निर्देशिका देशैभरि लागु भइसकेको पनि विभागले जनाएको छ।






