पूर्वमा टेन्डर, पश्चिममा अन्यौल

सुर्खेत । देशको पूर्वदेखि पश्चिमसम्म जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा एकसय २९ किलोमिटर मिटर खण्ड पर्दछ । जसमध्ये जिल्ला सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा ३५ किलोमिटर र पश्चिम क्षेत्रमा ९४ किलोमिटर पर्छ । पूर्वमा धुलियाबिट–भेडाबारी–बोटेचौर सडक खण्ड र पश्चिममा बड्डीचौर–बेनीघाट सडक खण्ड पर्दछ ।
यि दुबै सडक पुराना तर प्राथमिकतामा नपरेका सडकहरु हुन् । दुबै सडकलाई मदन भण्डारी राजमार्गले समेटिएपछि स्थानीयहरु हर्षित छन् । ट्याक खोलिएका सडक बर्षाैदेखिका सडक बन्ने भएपछि स्थानीय हर्षित भएका हुन् । पूर्विक्षेत्र अर्थात धुलियाबिट–भेडाबारी–बोटेचौर सडकको अब स्तरोन्नति हुने लगभग पक्कापक्की भएको छ । सडकको स्तरोन्नति गर्ने उद्देश्यले आयोजनाले टेन्डर प्रक्रिया नै अगाडि बढाएको छ ।

‘धुलियाबिट–बोटेचौर खण्डको टेन्टर प्रक्रिया अगाडि बढेको छ’ मदन भण्डारी सडक आयोजनाका इन्जिनियर शिव तिमिल्सेनाले भने, ‘चालु आर्थिक वर्षमै बहुबर्षिय आयोजनामा काम सुरु हुन्छ ।’ चालु आर्थिक वर्षमा काम सम्पन्न गर्न नसकिने भएका कारण बहुबर्षिय आयोजनामा ठेक्का प्रक्रिया थालिएको हो । बैशाख मसान्तसम्म ठेक्का प्रक्रिया सकिने उनको भनाइ छ । ठेक्का छनौट भएपछि धुलियाबिटदेखि बोटेचौरसम्म ३५ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम सुरु हुनेछ ।
डीपीआर अनुसार सडक नौ मिटर चौडाइसम्म कालोपत्रे गरिनेछ । हाल सडकमा औसत चार मिटर चौडाइ छ । स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुनेछ । आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर ११ र १३, लेकबेशीका १, २, ३, ४, ६, ७, ९ र १० र गुर्भाकोटका १०, १२, १३ र १४ वडाहरु प्रत्यक्ष प्रभावित हुनेछन् । सडक स्तरोन्नति भएको खण्डमा पूर्वका नागरिकलाई वीरेन्द्रनगर आउजाउमा सहज हुनेछ ।
२०३६ सालमा ट्¥याक खुलको भेडाबारी सडक खण्ड ४१ बर्षसम्म स्तरोन्नति भएको छैन । पूर्वि क्षेत्रको टेन्टर प्रक्रिया सुरु भइरहदा पश्चिम खण्डको काम भने अन्यौलमै छ । पश्चिम खण्डको डीपीआर तयार तयार भए पनि इआईए नहुँदा स्तरोन्नतिको काम अन्यौलमा परेको हो । सर्वेक्षणदेखि नै स्थानीयले अवरोध गरेका कारण इआईए तयार हुन अझै केही समय लाग्ने देखिएको छ । यही कारण पश्चिखण्डमा स्तरोन्नतिको काम अगाडि बढ्न सकेको छैन ।
पश्चिम खण्डमा पर्ने पञ्चपुरीको खम्बागाडे, पलैटे, बराईच ेहुँदै बाबियाचौर जोड्ने कि खम्बगाडे. शिवधाम हुँदै बाबियाचौर जोड्ने भन्ने विषयमा विवाद भएको थियो । स्थानीयको यही विवादका कारण सुरुवातमै वातावरणीय प्रभाव मूल्याङ्को काम प्रभावित भएको थियो । पश्चिम खण्डमा बराहताल गाउँपालिकाको बड्डिचौरदेखि बेनिघाटसम्म ९४ किलोमिटर समेट्छ ।
‘समयमै सडकको स्तरोन्नति हुन्छ’
धुलियाबिट–भेडाबारी–बोटेचौर सडक खण्डको टेन्टर प्रक्रिया सुरु भएसँगै पूर्वी क्षेत्रका नागरिकमा खुशीयाली छाएको छ । जनप्रतिनिधि र स्थानीयले तोकिएकै समयमै सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ‘ट्याक खुलेको बर्षाैपछि सडक स्तरोन्नति हुन लागेको छ’ प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले भने, ‘अब तोकिएकै समयमा आयोजना सम्पन्न गर्न पहल गर्छु ।’
निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुन लागेको भन्दै शाहीले आयोजनामा कुनै अवरोध आउन नदिने बताए । ‘डीपीआर बन्दसम्म कुनै स्थानमा विवाद छैन, सडक स्तरोन्नति हुँदा पनि विवाद आउने अवस्था छैन’ उनले भने, ‘विवाद आए पनि स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।’ आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्ने र लगानीको अभाव हुन नदिने जनाए । ‘गौरवका आयोजनाहरुमा लगानीको कमी हुँदैन’ उनले भने, ‘क बर्गका निर्माण व्यवसायीले निर्माणको जिम्मा पाउने हुँदा ढिलासुस्ती पनि हुँदैन ।’
‘निरन्तर पहल गरिरहेको छु’
पश्चिम खण्डमा पर्ने बड्डीचौर–बेनिघाट सडक खण्डको काम अन्यौलमा परेका छ । इआईए हुन नसकेका कारण आयोजनाको काम अन्यौलमा परेको हो । तर जनप्रतिनिधिहरुले तीब्र गतिमा इआईएको काम अगाडि बढाउन पहल गर्दै आएको दाबी गरेका छन् ।
‘डीपीआर बनेको छ, तर इआईए हुन सकेको छैन’ कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले भने, ‘इआईए गर्नुपर्ने भएकै कारण पश्चिम क्षेत्रको काममा ढिलाइ भएको हो ।’ कानुनी प्रावधान अनुसार ५० किलोमिटरभन्दा भागमा आइइइ र सोभन्दा बढी किलोमिटर सडक स्तरोन्नति गर्दा इआइए गर्नुपर्ने हुन्छ । इआईए गर्नुपर्ने भएकै कारण स्तरोन्नतिमा ढिलाई भएको उनको तर्क छ । यद्यपी सडकको स्तरोन्नतिको काम अगाडि बढाउन निरन्तर पहल गर्दै आएको विष्टको दाबी छ ।





