एमालेतिर लागेका माओवादीका १३ सांसदको पद गुम्यो

काठमाडौं । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादीलाई राजनीतिक रुपमा नराम्रोसँग झड्का लागेको छ । सोही फैसलाअनुसार नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युँतिए पनि तत्कालीन माओवादीका प्रदेशदेखि सङ्घीय संसदसम्म प्रतिनिधित्व गर्ने सांसदहरु एमालेतिर लागे । उनीहरु मुल पार्टीमा नफर्किएपछि माओवादी केन्द्रका १३ सांसदले पद गुमाएका छन् ।
अर्थात माओवादीले विभिन्न प्रदेश, सङ्घीय प्रतिनिधि सभा र राष्ट्रियसभाका १३ सांसद गुमाएको हो । आइतबारमात्रै एमालेका लागेका पूर्व माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वतः पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद् सचिवालयमा दर्ता गरेको थियो ।
सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन् । तिमिल्सिनाको निर्णयसँगै संसद् सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ ।
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए । उनी पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो ।
माओवादीको सूचनाअनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसद समेतको पद गइसकेको छ । अर्को दलमा गएपछि दल त्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार माओवादीले कारबाही गरेको हो ।
यस्तै माओवादीको दल त्यागको सूचनामा चैत २६ केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद पनि गुमेको थियो । संघ र प्रदेशका १२ स्थानमा उपनिर्वाचनको तयारी
पद गुमाउनेमा लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका थिए । उनीहरुलाई सांसद पद नरहे पनि ओलीले पुनः मन्त्री बनाइसकेका छन् ।

माओवादीले ८ जना प्रदेशसभा सदस्यले पनि सांसद पद गुमाइसकेका छन् । जसमा प्रदेश १ का टंक आङ्बुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीका साथै कर्णाली प्रदेशका धर्मराज रेग्मी रहेका छन् । त्यसैगरी प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना प्रदेशसभा सदस्यलाई एकैसाथ बर्खास्त गरेको छ । पार्टीले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुलाई कारवाही गरेपछि ती स्थान रिक्त बन्न पुगेका हुन् ।
प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारवाही गरेको हो । मण्डल धनुषा क्षेत्र नम्बर १ को(ख), कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख), ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित सांसद हुन् भने मोहम्मद समीर बाराबाटै समानुपातिक सांसद थिए । अब सङ्घसहित प्रदेशका १३ स्थानमा सांसद पद रिक्त भएपछि उपनिर्वाचन गर्नुपर्ने भएको छ । उपनिर्वाचनका लागि शनिबारको सर्वदलीय बैठकमा दलहरुबीच सैद्धान्तिक सहमति भइसकेको छ भने निर्वाचन आयोगले पनि ६० दिनमा उपनिर्वाचन गर्न सकिने बताएको छ ।
यस्तै गृहमन्त्री बादल आइतबारदेखि पदमुक्त भएसँगै विद्यमान कानुनी व्यवस्थाअनुसार उनको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ । राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । तर, राष्ट्रियसभा सदस्यको हकमा भने ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने कानुनी बाध्यता छ ।






