‘ओमानलाई जितेर प्रशिक्षकको सुखद बिदाइ गर्छौँ’

मस्कट _ओमान । जति बेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेब वाटमोरले आफ्नो जिम्मेवारीबाट हट्ने निर्णय गरे, त्यति बेला नेपाली टिम ओमानको अल अमारतस्थित क्रिकेट एकेडेमीको मैदानमा अभ्यास गर्दै थियो । नेपालमा प्रशिक्षकले राजीनामा दिएको समाचार भाइरल बनिसक्दा खेलाडी भने बेखबर थिए ।

अभ्यासबाट होटेल फर्किंदा गाडीमा गाइँगुइँ कुरा हुँदा बल्ल प्रशिक्षकले पक्का गरेका थिए, आफूले राजीनामा दिएको कुरा । नेपालको प्रशिक्षकका रूपमा वाटमोरको ओमान भ्रमण अन्तिम हुनेछ । र, आइतबार ओमानविरुद्धको खेल अन्तिम खेल हुनेछ । त्यसैले खेलाडीहरू ओमान भ्रमणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रशिक्षकको सुखद बिदाइ गर्न चाहन्छन् ।

‘‘जित्न त जित्नैपर्छ जसरी पनि । ओमानमा हामी जित्नकै लागि आएका थियौँ । अंक तालिकाको शीर्ष टिमहरूविरुद्ध जित्न सक्यौँ भने यस प्रतियोगितामा पछिलाई पनि सजिलो हुन्थ्यो भन्ने थियो,’’ नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘‘हाम्रो प्रशिक्षकको पनि सम्भवतः त्यो अन्तिम खेल हुनेछ । हामी जितेर उहाँलाई राम्रो फेयरवेल दिने विचारमा छौँ ।’’

ओमान भ्रमणमा नेपालले पीएनजीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भयो । त्यसपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पनि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हरायो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भयो । अब ओमान भ्रमणको अन्तिम खेल घरेलु टोलीविरुद्ध नै आइतबार अल अमारत क्रिकेट एकेडेमीको मैदानमा खेल्नेछ ।

ओमान प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा छ । ओमानले १२ खेलबाट २० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले १५ खेलबाट १४ अंक जोडेको छ । सात खेलबाट ६ अंक जोडेको नेपालमा छैटौँ स्थानमा छ । नेपालभन्दा तल पीएनजी छ ।

हारको मुख्य कारण मध्यक्रममा साझेदारी नबन्नु आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल शुक्रबार अमेरिकासँग पहिलोपटक पराजित भयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल अमेरिकासँग हारेको यो पहिलोपटक हो । त्यसकारण पनि नेपाललाई अन्तिम खेलमा जित्नका लागि दबाब छ । अमेरिकाविरुद्ध नेपालले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो ।

अमेरिकाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाउनुबाहेक अरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कुनै पनि समय नेपाली ब्याट्सम्यानले अमेरिकी बलरलाई दबाबमा राख्न सकेनन् । कप्तान ज्ञानेन्द्र पनि त्यसलाई हारको मुख्य कारण मान्छन् ।

‘‘यो स्तरमा आएर खेल्दा हामीले २२० भन्दा माथिको रन बनाउन सक्नुपर्थ्यो । सकेनौं । त्यसकारण पनि जित्न गाह्रो भयो । त्यसकारण हामीले ब्याटिङमा अझ राम्रो गर्न सक्नुपर्थ्यो,’’ ज्ञानेन्द्रले थपे, ‘‘सुरुमै विकेट गयो । मध्यक्रममा पनि साझेदारी गर्न चुक्यौँ । मध्यक्रममा राम्रो साझेदारी गर्न सकेको भए तल्लोक्रममा आउने करणहरूलाई फिनिसिङ दबाब हुँदैनथ्यो ।’’

अमेरिकाविरुद्ध कुशल मल्ल र गुल्सन झाले ओपनर स्टेभन टेलरको क्याच छुटाएका थिए । उनै टेलरले ९२ रन बनाए । कप्तान ज्ञानेन्द्रले त्यो दुई क्याच नछुटेको भए अमेरिकालाई दबाबमा राख्न सक्ने सम्भावना भए पनि ब्याटिङ नै मुख्य कमजोरी भएको बताए ।

‘‘क्रिकेटमा सधैँ यस्तो भएको भए भन्ने कुरा हुन्छ । त्यो विकेट लिएको भए हामीले अमेरिकामाथि अझ धेरै दबाब बनाउन सक्थ्यौँ होला । अर्को इन्डबाट अरू ब्याट्सम्यान खेल्न सकिरहेका थिएनन् । सानो स्कोर भएको खेलमा पाएको मौका गुमाउँदा गाह्रो नै हुन्छ,’’ ज्ञानेन्द्रले थपे, ‘‘फिल्डिङमा हाम्रो गल्ती भएकै हो । तर, हामीले ब्याटिङ नै राम्रो गर्न सकेनौँ । कमजोर ब्याटिङ नै हाम्रो हारको मुख्य कारण हो ।’’

‘ओमानलाई जितेर प्रशिक्षकको सुखद बिदाइ गर्छौँ’

२४ औँ गणेशमान सिंहको स्मृत दिविस मनाइँदै

‘ओमानलाई जितेर प्रशिक्षकको सुखद बिदाइ गर्छौँ’

सिआइवीले पक्राउ गरेका २५ मा २३ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *