कर्णालीका नवनियुक्त तीन मन्त्रीले लिए सपथ

सुर्खेत । एमालेबाट फ्लोर क्रस गरी भोट हालेर मन्त्री बनेका कर्णाली सरकारका तीन नवनियुक्त मन्त्रीले सपथ लिएका छन् ।
नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाहीले आइतबार साँझ सपथ लिएका छन् ।

नवनियुक्त तीनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ खुवाएका हुन् । सपथग्रहणसँगै तीनै जना मन्त्रीले मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसदमध्ये तीनजनालाई शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियूक्त गरेका थिए ।

यसैबिच नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्राप्त गरेको सरकारी गाडी कर्णाली सरकारलाई फिर्ता गरेका छन् ।
शुक्रबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रतिपक्षीको भुमिकाबाट हटेको हो ।






