कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन, थापा, बुढा र शाही बने मन्त्री

सुर्खेत । कर्णालीमा शनिबार साँझ मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । उनीहरुले आज (आइतबार) मात्रै पद तथा गोपनियताको सपथ लिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
नवनियुक्त तीनै जना एमाले नेता माधवकुमार नेपाल समूहका हुन् । उनीहरुले शुक्रबार मात्रैमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । पार्टीको ह्विप तोड्दै शुक्रबार मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि नेकपा एमाले प्रदेश कमिटीले तीन जना सांसदलाई शनिबार पार्टीबाट निस्कासन गरिसकेको छ ।

मन्त्रीहरुको राजनीतिक पृष्ठभूमि
थापाः नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा दैलेख प्रदेशसभा १ (ख) बाट निर्वाचित सांसद हुन् । विस २०३६ सालमा भएको जनमत संघ्रहमा सक्रिय रुपमा सहभागी थापाको राजनीतिक पृष्ठभूमि लामो छ । २०२९ सालमा जिल्ला सभाको सदस्य भएका उनी २०४२ सालमा बामपन्थी राजनीतिमा लागेका हुन् ।
२०४८ सालमा एमालेमा आबद्ध भएका उनी संविधानसभा सदस्यसमेत हुन् । उनले १३ पटक हिरासत र डेढ महिना जेल जीवन विताएका छन् । उनले माध्यमिक शिक्षा पास गरेका छन् । आमा सावित्री र वुवा पठे थापाबाट २०१२ सालमा दैलेखको भगवतिमाई गाउँपालिका–१ पग्नाथमा उनको जन्म भएको हो ।
बुढाः नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढा डोल्पा प्रदेशसभा (ख) बाट निर्वाचित सांसद हुन् । उनीको सक्रिय राजनीति यात्रा धेरै लामो भने छैन । २०५८ सालदेखि नेपाल निजामति कर्मचारी संगठन डोल्पाबाट उनले राजनीति सुरु गरेका हुन् । २०६३ सालदेखि एमालेको सक्रिय राजनीतिमा संलग्न भएका उनी चैत्र २४ गतेसम्म कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री थिए ।
उनले २०७० सालमामा एमाले डोल्पाको पार्टी सचिव भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले प्रविणता प्रमाणपत्र तह (प्लसटु) सम्म शिक्षा हाँसिल गरेका छन् । आमा चन्द्रकुमारी र बुवा धनराम बुढाथोकीबाट २०३२ साल बैशाख १७ गते ठूलोभरी नगरपालिका–४ दुनैमा उनको जन्म भएको हो ।
शाहीः नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त कुर्मराज शाही कालिकोट प्रदेशसभा (क) बाट निर्वाचित सांसद हुन् । २०४९ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरेका शाही २०४७ सालदेखि एमालेको सक्रिय राजनीतिमा लागेका हुन् ।
२०५७ देखि २०६५ सम्म एमाले कालिकोटको पार्टी उपसचिव,२०६६ मा जिल्ला कमिटी सचिव, २०६८ सालमा एमाले कालिकोटका अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले अर्थशास्त्र र अंग्रेजी विषयमा स्नातकतहसम्म अध्ययन गरेका छन् । आमा मैनकला र बुवा पदमबहादुर शाहीबाट २०२८ साल बैशाख ८ गते शुभकालिका गाउँपालिका–४ कालिकोटमा उनको जन्म भएको हो ।






