किसानलाई कृषि यान्त्रिकरणसम्बन्धी तालिम

बलेवा :  कृषि यान्त्रिकरण तथा नविकरणीय ऊर्जा सामग्री मर्मत सम्भारसम्बन्धी सात दिने तालिम बागलुङमा सुरु भएको छ । बागलुङ, पर्वत र म्याग्दीका किसानलाई उक्त तालिम दिइएको हो । क्वालिटी रिन्युएबल इनर्जी प्रालीले इसिमोड र नेपाल कम्युनिटर नामक संस्थाको आर्थिक सहयोग तथा कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरेको उक्त तालिममा ३० युवा किसान सहभागी छन् । तालिममा बागलुङका सबै पालिका तथा पर्वत र म्याग्दीका पाँचपाँच जना छन् ।

तालिममा दक्ष प्राविधिक प्रशिक्षकले तालिम दिने क्वालिटी रिन्युएबल इनर्जी प्रालीका सञ्चालक सूर्य गौतमले बताए । ग्रामीण क्षेत्रमा वितरण भएका यान्त्रिक हलो मर्मतका लागि दक्ष प्राविधिक बनाउन यो तालिम आयोजना गरिएको हो ।

यस्ता प्रकारका तालिमले युवा रोजगार बढ्ने र गाउँगाउँमै प्राविधिक उत्पादन हुने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए । तालिम उद्घाटन गर्दै उनले अब दशवटै पालिकामा पनि तालिम सञ्चालन गरेर वडा वडामा प्राविधिक बढाउनुपर्ने बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले किसानलाई व्यावसायिक रूपले नै दक्ष बनाउने लक्ष्य लिइएको उल्लेख गर्दै हरेक वर्ष वितरण भएका हलो सदुपयोग हुनाका साथै राज्यको अनुदान पनि सदुपयोग गर्न तालिमले सघाउने बताए । तालिममा अन्य प्राविधिक ज्ञान र ऊर्जासम्बन्धी जानकारी समेत दिइने भएको छ । (रासस)

Leave a comment

Your email address will not be published. Required fields are marked *