एमालेका सांसदले ‘फ्लोर क्रस’ गर्दा जोगियो मुख्यमन्त्री शाहीको पद

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रबार संसदबाट विश्वासको मत लिएसँगै मुख्यमन्त्रीको पद जोगिएको हो । उनलाई एमालेका चार सांसदसहित २२ जना सांसदले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा एमालेका १५ जना सांसद उभिए ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीको पद संकटमा परेको थियो । तर शुक्रबार प्रदेशसभामा एमालेकै सांसदहरुले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । यसअघि एमाले र माओवादीबीच पार्टी एकता भई नेकपा हुँदा कर्णालीमा माओवादीको नेतृत्वमा एमाले पनि सरकारमा सहभागि थियो ।
तर सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी अलग भएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको छ । गत चैत ५ गते एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली सरकार अल्पमतमा परेको थियो । यहीकारण मुख्यमन्त्री शाहीले शुक्रवार प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्रीको दल माओवादीका जम्मा १२ सांसद मात्र छन् । ३९ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २० जना सांसद आवश्यक थियो । तर प्रदेशसभामा एमाले एक्लैका २० सांसद छन् भने एमालेबाहेक सबै दलका सांसद जोड्दा पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था थिएन ।
यहाँ काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । तर राप्रपा भने शुक्रबार तटस्थ बसेको थियो । मुख्यमन्त्रीको पक्षमा माओवादीका १२, काँग्रेसका ६ र एमालेका चार जना सांसदले मत दिए । विश्वासको मतका लागि आवश्यक पर्ने २० मतमा मुख्यमन्त्री शाहीले २२ मत पाएका हुन् ।
शुक्रवारको बैठकमा ३७ जना सांसद उपस्थित थिए । बैठकमा सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा २२ र विपक्षमा १५ मत खसेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
जसले गरे संसदमा फ्लोर क्रस…
प्रदेशसभामा एमाले एक्लैको बहुमत छ । एमाले सांसदहरु एकताबद्ध भएको भए कर्णालीमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने सम्भावना थिएन । एमालेबिना सरकार बन्ने अवस्था पनि थिएन । तर एमालेकै चार जना सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगियो ।
शुक्रबार प्रदेशसभामा एमाले नेता माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका हुन् । उनीहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई साथ दिएपछि एमालेको आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा असफल भएको छ । फ्लोर क्रस गर्ने ज्वाला र बुढाले केहीदिन अघिमात्र मन्त्रीबाट राजीनामा दिएका थिए ।
आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्दै एमाले संसदीय दलको बैठकले सरकारमा सहभागि तीन जना मन्त्रीलाई राजीनामा दिन लगाएको थियो । दलको निर्णय अनुसार मन्त्रीबाट राजीनामा दिएका उनीहरुले शुक्रबार पार्टीको ह्वीप मानेनन् । एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न शुक्रबार मात्र ह्वीप जारी गरेको थियो । यस्तै कालिकोटबाट निर्वाचत कुर्मराज शाही र दैलेखबाट निर्वाचित अमरबहादुर थापाले पनि फ्लोर क्रस गरेका हुन् ।

यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री रहेका ज्वाला सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित सांसद हुन् । उनी २०३९ सालदेखि एमालेका राजनीतिमा सक्रिय छन् । अमरबहादुर थापा दैलेख प्रदेशसभा १ (ख) बाट निर्वाचित सांसद हुन् । उनी २०४८ सालदेखि एमालेको सक्रिय राजनीतिमा छन् । ज्वाला र थापा संविधान सभा सदस्यसमेत हुन् ।
२०६३ सालदेखि एमालेको राजनीतिमा सक्रिय नन्दसिंह बुढा चैत २४ गतेसम्म कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए । उनी डोल्पा प्रदेशसभा (ख)ब ाट निर्वाचित सांसद हुन् । त्यस्तै कुर्मराज शाही पनि २०४७ सालदेखि एमालेको राजनीतिमा सक्रिय छन् । उनी कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित सांसद हुन् । यस्तै एमाले नेता माधव नेपाल पक्षकै सांसद देवी वलीले भने फ्लोर क्रस गरेकी थिइन् । तर मुख्यमन्त्रीको पक्षमा बहुमत पुगेको जानकारी पाएपछि उनले सभामुखले मत सच्याउन दिएको समयमा आफ्नो मत सच्याएकी थिइन् ।
केन्द्रको निर्देशन अनुसार फ्लोर क्रस ग¥यौं : ज्वाला
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा विश्वासको मत दिएका नेकपा एमालेका चार जना सांसदले केन्द्रकै निर्देशनमा फ्लोर क्रस गरेका प्रतिक्रिया दिएका छन् । फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वालाले पार्टीको निर्देशन अनुसार नै फ्लोर क्रस गरेको बताए ।
‘केन्द्रबाट नेताहरुले नै निर्देशन दिएपछि त्यसैको पालना गरेर फ्लोर क्रस गरेका हौं,’ उनले भने ‘अब हामीलाई कारबाही भए पनि नयाँ कुरो भएन । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही नेताहरुलाई त धमाधम कारबाही गरिरहेको भन्दै उनले अब पार्टीले जे कारबाही भए पनि हामीलाई आपत्ति नहुने तर्क गरे ।
चार जना सांसदलाई कारबाही गर्न सिफारिस
यसैबीच कर्णाली प्रदेशमा एमाले संसदीय दलको बैठकले चार जना सांसदलाई कारबाहीको सिफारिस गरेको छ । शुक्रबार साँझ आकस्मिक रुपमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई साथ दिएका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमररबहादुर थापा र कुर्मराज शाहीलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको सांसद दल रावलले जानकारी दिए ।
‘बैठकले फ्लोर क्रस गर्ने चारैजना सांसदलाई २४ घण्टे स्पष्टिकर सोध्ने र कारबाहीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ’ सांसद रावलले भने, ‘स्पष्टिकरणका आधारमा कस्तो खालको कारबाही गर्ने भन्ने विषय पार्टीले टुङ्गाउँ छ ।’
सांसदहरुलाई दलको विद्यान अनुसार २४ घण्टे स्पष्टिकरण सोधिएको, तर कारबाहीको प्रकृति भने पार्टीको केन्द्रिय कमिटीले निर्णय लिने उनको भनाइ छ । स्पष्टिकरण सोधिएका चार जना सांसदहरुले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
एमाले फेरि असफल !
कर्णालीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न एमाले असफल भएको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल भएर पनि एमाले सरकारको नेतृत्व गर्न असफल भएको हो । यसअघि माओवादी र एमालेबीच पार्टी एकता हुँदा यहाँ एमालेले सरकारको नेतृत्वमा दाबी गरेको थियो ।
तर त्यतिबेला कर्णालीमा सरकारको नेतृत्व माओवादीको भागमा परेपछि एमाले पछाडि हटेको थियो । पार्टी एकता भाँडिने भन्दै केन्द्रको दबावमा सरकारको नेतृत्व गर्न नपाएपछि कर्णालीमा एमालेभित्र असन्तुष्टी बढेको थियो ।
त्यही असन्तुष्टी चुलिएपछि गत असोजमा एमालेका सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्रीलाई संसदीय दलको नेताबाट हटाएर सरकारको नेतृत्व गर्ने एमालेको प्रयास त्यसबेला पनि असफल भयो ।
त्यतिबेला पनि नेता माधव नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फेल भएको थियो । यसपटक पार्टी नै अलग भएको अवस्थामा एमालेले आफ्नै नेतृत्वमा एकल सरकार बनाउने कसरत गरेको थियो । तर यसपाली पनि आफ्नै सांसदले साथ नदिएपछि एमाले सरकारको नेतृत्व गर्नबाट फेरि चुकेको छ ।






