काँक्रेविहार क्षेत्रमा चिडियाखाना संचालन गर्न पूर्वाधार तयार हुँदै

सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य हो, काँक्रेविहार क्षेत्र । जहाँ पर्यटकलाई थप आकर्षित गर्न यहाँ रहेको जंगलमा मिनी चिडियाखाना बनाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहारमा मिनी चिडियाखाना बनाउन थालेको हो । चिडियाखाना निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण थालिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।
‘सानो आकारको चिडियाखाना बनाउने योजना छ’ सुवेदीले भने, ‘जसका लागि अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ ।’ पर्यटकको आकर्षण बनाउनका लागि चिडियाखाना बनाउन थालिएको हो । ‘काँक्रेविहार आफैमा पर्यटकीय गन्तव्य हो’ उनले भने, ‘थप पर्यटकलाई आकर्षण गर्नका लागि चिडियाखाना निर्माण गर्न लागेका हौं ।’ पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यले चिडियाखाना निर्माण गर्न लागिएको हो । विगत दुई बर्षदेखि नगरपालिकाले काँक्रेविहारमा चिडियाखाना बनाउने योजना अगाडि सारेको छ ।
काँक्रेविहार क्षेत्रमा रहेको जंगललाई पुरै घेरबार गरेपछि मिनी चिडियाखानाको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ । ‘पहिले पनि काँक्रेविहार चिडियाखाना नै थियो’ नगर प्रमुख सुवेदीले भने, ‘त्यसकै रिप्लेसमेन्ट गर्न मिनी चिडियाखाना बनाउन थालेका हौं ।’ मिनी चिडियाखाना स्थापना भएपछि रैथाने वनजन्तुको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ ।
पुराना वन्यजन्तुको संरक्षणको लागि काँक्रेविहारमा बन्यजन्तुको वासस्थान निर्माण, पानी पोखरी निर्माण र आहाराका लागि बोटविरुवाहरु रोपिने छ । रैथाने वन्यजन्तुहरु विस्थापित नहुन् भन्ने उद्देश्यले उनीहरुका लागि पिउने पानी पोखरी र आहाराका लागि बोटविरुवा र वास बस्नको लागि वासस्थान निर्माण गरिने सुवेदीले बताए ।
चिडियाखानाका लागि नगरपालिकाले पूर्वाधार निर्माण कार्य अगाडि बढाएको छ । नगरपालिकाको लगानीमा डिभिजन वन कार्यालयले पूर्वाधार निर्माण गरिरहेको छ ।
‘स्विकृत कार्ययोजना अनुसार सानो चिडियाखाना बनाउने योजना छ’ डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले भने, ‘खुला चिडियाखानाका लागि अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ । संरक्षित वन क्षेत्रमा सानो आकारको चिडियाखाना बनाउन मिल्ने स्वीकृत योजना अनुसार पूर्वाधार निर्माणको काम भइरहेको हो । चिडियाखानाका लागि करिव तीन हेक्टर क्षेत्रलाई घेरबार गरिरहेको छ ।
तीन हेक्टर क्षेत्रफललाई घेरबारका लागि नगरपालिकाले पाँच लाख रकम उपलब्ध गराएको छ । सोही रकमको स्टेट्मेट अनुसार चिडियाखानको लागि पूर्वाधार निर्माण गरिन थालिएको हो । हाल कम्पाउन्डिङ भइरहेको क्षेत्रलाई वन्यजन्तु उद्दार केन्द्रका रुपमा विकास गरिनेछ । त्यहाँ घाइते वन्यजन्तुको उद्दार गरेर राखिनेछ । तत्काललाई ति वन्यजन्तु नै पर्यटकले अवलोकन गर्न पाउनेछन् ।
‘काँक्रेविहार आफैमा खुला चिडियाखाना नै हो’ दाहालले भने, ‘अहिले कम्पाउन्डिङ भइरहेको क्षेत्रलाई वन्यजन्तु उद्दार केन्द्रका रुपमा विकास गरिनेछ ।’ नगरपालिकाको बजेटबाट उक्त क्षेत्र कम्पाउन्डिङ भइरहेको हो । मिनी चिडियाखाना बनाउने तयारी गरिएको काँक्रेविहार क्षेत्र जरायोको प्रमुख वासस्थान मानिन्छ । तर व्यवस्थित तारबार नहुँदा हाल जरायोको चोरी शिकारी बढ्दै गएको छ ।
हाल काँक्रेविहारमा जरायोसहित स्याल, दुम्सी, लगायतका जनावर पाइन्छ । तर खुला जंगल क्षेत्र र बेलाबेलामा हुने आगलागीका कारण वन्यजन्तु लोप हुँदै गएका छन् । चिडियाखाना निर्माण भएमा वन्यजन्तुको संरक्षण हुने, पर्यटकको आकर्षण बढ्ने, आर्थिक क्रियाकलाप बढ्ने र काँक्रेविहारको आकर्षण पनि थप बढ्ने अपेक्षा गरिएको छ । यसैका लागि वीरेन्द्रनगर नगरपालिकाले चिडियाखानाको योजना अगाडि बढाएको हो ।
काँक्रेविहार क्षेत्रलाई घेरबार गरिदै
अब काँक्रेविहारको पूरै क्षेत्रलाई कम्पाउन्डिङ अर्थात घेरबार गरिने भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा पुरै क्षेत्र कम्पाउन्डिङ गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन्यजन्तु र जंगल संरक्षणका लागि बलियो संरचनाले कम्पाउन्डिङ गर्न लागिएको हो । कम्पाउन्डिङका लागि कर्णाली प्रदेश सरकारले लगानी गरेको हो । सिमेन्टेड पर्खालसहितका संरचनाले जंगल क्षेत्र घेरबार गरिएपछि नगरपालिकालाई चिडिया खाना बनाउन सहयोग पुग्नेछ ।
काँक्रेविहार जंगल क्षेत्र एकसय ७५ हेक्टरमा फैलिएको छ । महादेव क्षेत्री कन्ट्रक्स्नसहितका दुई कम्पनीले कम्पाउन्डिङ निर्माणको ठेक्का लिएका छन् । दुई बर्षभित्र काँक्रेविहारको पुरै क्षेत्रफल कम्पाउन्डिङ गरिसक्नुपर्ने छ ।
पर्यटकको रोजाइमा जंगल सफारी
पछिल्लो समय काँक्रेविहारमा घुम्न जाने पर्यटकको रोजाइमा जंगल सफारी पर्ने गरेको छ । काँक्रेविहार पुग्ने पर्यटकले घोडामा सवार गरेर जंगल क्षेत्र घुम्ने गरेका छन् । पर्यटकलाई आकर्षित गर्न वीरेन्द्रनगरको वडा नं. ९ ले दुई बर्षअघि घोडाबाट जंगल सफारी सुरु गरेको थियो ।
‘वडाले सुरुमा दुई वटा घोडाहरु दिएर जंगल सफारी सुरु गरेको हो’ वडाध्यक्ष सुरेश मानन्धरले भने, ‘पर्यटकको आकर्षण बढेपछि अहिले व्यवसायी आफैले पनि घोडाको व्यवस्थापन गरेका छन् ।’ पछिल्लो समय काँक्रेविहार पुग्ने प्रायः सबैले घोडामा सवार गर्ने गरेको उनले बताए । काँक्रेविहार मन्दिर वरिपरिको बाटोमा घोडामा घुमेको तीन य र जंगल सफारी गरेको खण्डमा पाँचसय रुपैयाँ शुल्क तोकिएको छ ।
पुरातात्विक, धार्मिक, ऐतिहासिक र पर्यटनका हिसावले काँक्रेविहार सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र हो । हाल मन्दिरको पुननिर्माण गरिएको छ । यद्यपी पुननिर्माणको केही काम बाँकी नै छ । शिखरशैलीमा मन्दिरको पुननिर्माण गरिएको छ । दुबो लगाउने र तारबार लगायतका कार्यहरु बाँकी छन् । कोरोना महामारीका कारण बाँकी काममा ढिलाइ भएको हो ।





