महामारीमा प्रदेश अस्पतालको खेलाँची

सुर्खेत । शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतले एउटा सूचना जारी ग¥यो । ‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ’ अस्पतालले जारी गरेको उक्त सूचनामा भनिएको थियो ।

कोरोना महामारीको समयमा प्रदेशको मुख्य अस्पतालले नै संक्रमित भर्ना लिन नसक्ने सूचनाले शनिबार दिनभरी कर्णाली आतंकित बन्यो । स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा गैरजिम्मेवारपूर्ण सूचनापछि नागरिकले अस्पताल प्रशासन र प्रदेश सरकारविरुद्ध तीव्र आक्रोश पोखे ।

तर २४ घण्टा नवित्दै अस्पताल आफ्नो निर्णयबाट ब्याक अर्थात पछाडि हट्न बाध्य भयो । दिनभर सूचनामार्फत आतंक मच्चाएको अस्पतालले शनिबार साँझ भने क्षमयाचाना माग्दै संक्रमितलाई भर्ना लिने अर्को सूचना सार्वजनिक गरेको छ । कर्णालीमा कोरोना संक्रमण तीव्र छ । दैनिक अस्पतालमा समेत मानिसहरुको मृत्यु भइरहेको छ ।

तर यही मौकामा अस्पताल प्रशासनले नै संक्रमितको उपचारमा खेलाँची गरेपछि चौतर्फी त्यसको विरोध हुने नै भयो । माथिल्लो निकायलाई जानकारी नै नदिएर अस्पतालले बिरामीको उपचार नगर्ने सूचना जारी गरेपछि सरकारी निकायहरु नै आश्चर्यमा परे । अन्ततः शनिवार साँझ प्रदेश र जिल्लाको कोरोना संकट व्यवस्थापन समितिको बैठकपछि अस्पताल संक्रमितको उपचार गर्न सहमत भएको हो ।

सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने र जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पतालमा रेफर गर्ने सहमतिपछि थप संक्रमितलाई भर्ना नलिने निर्णयबाट अस्पताल पछाडि हटेको हो । अस्पतालले नेपालगञ्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसक्ने जनाए पनि वास्तविकता त्यस्तो थिएन ।

कर्णालीमा अक्सिजन सप्लायर्स गर्ने कम्पनीहरुले नियमति अक्सिजन आपूर्ति गर्दै आएका थिए । ‘बिहीबार ५० वटा र शुक्रबार ६० वटा सिलिण्डर पठाएका थियौँ’ सुर्खेतमा अक्सिजन आपूर्ति गर्ने मध्येको एउटा कम्पनी एचओ अक्सिजन इण्डष्ट्रिज प्रालि नेपालगञ्जका सञ्चालक रामु खड्काले भने, ‘हामीबाट अवरोध भएको छैन, पालो आउन केही समय लागेको मात्र हो ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पनि अक्सिजन आपूर्ति नरोकेको बताए ।

‘संकटमा माग अनुसार नपाउनु फरक कुरा हो, तर आपूर्ति नै रोक्ने काम भएको छैन’ गेलालले भने, ‘अस्पतालले समन्वय नै नगरेर हामीलाई दोष मात्रै दिइएको हो ।’ अक्सिजनको सहज आपूर्तिका लागि अस्पताल प्रशासन र कर्णालीका नेतृत्व तहले आफूसँग समन्वय नगरेको उनको भनाई छ । यसैबीच प्रदेश अस्पतालले थप संक्रमितको उपचार गर्न नसक्ने सूचनापछि भने सुर्खेतका सम्बन्धित निकायबीच समन्वको वातावरण बनेको छ ।

प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले अक्सिजन आपूर्तिका लागि समन्वय गर्ने थालेका छन् । शनिबार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाललाई अक्सिजनको सहज आपूर्तिको लागि समन्वय गरिनिदन आग्रह गरेका छन् । मुख्यमन्त्रीले सामान्य संक्रमितलाई सम्बन्धित स्थानीय तह र जिल्लामा उपचारको प्रबन्ध गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रदेश अस्पतालको सूचनाले सबै निकायलाई समन्वयको वातावरण सिर्जना गरेको बैठकमा सहभागी एक सदस्यले जनाए ।

अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले कर्णालीको सुर्खेतमा ठूलो क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । शनिबार बसेको समितिको बैठकले प्रदेश अस्पतालमा दैनिक एक हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लान्टको तत्काल स्थापना गर्न सरकारलाई निर्देशन दिएको समितिका अध्यक्ष देवी ओलीले जानकारी दिइन् ।

त्यस्तै बिरामी र बिरामीका आफन्तहरुमा अत्यधिक डर, त्रासको वातावरण भई मानसिक समस्या देखिएकाले यसको न्यूनिकरण गर्न मनोविमर्श दिने उद्देश्यले निःशुल्क हटलाइन सेवा पनि तत्काल सुरुवात गर्न निर्देशन दिएको हो । समितिले संक्रमणदर बढ्दै गएको भन्दै तत्काल पर्याप्त मात्रामा मेडिकल सामग्री, हरेक जिल्लामा अक्सिजन प्लाण्टको स्थापना गर्नुपर्ने लगायतका निर्देशन सरकारलाई दिएको छ ।

जब मुख्यमन्त्री र सिडिओले हपारे…

जिल्ला प्रशासन कार्यालय सुर्खेत र कर्णाली प्रदेश सरकारलाई पूर्वजानकारी नै नदिएर प्रदेश अस्पतालले शुक्रबार साँझ सूचना जारी गरेको थियो । संक्रमितलाई भर्ना नलिने अस्पतालको त्यही सूचनाले शनिबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निकै तनावमा बनायो ।

अस्पतालको सूचनाले सरकारविरुद्ध नागरिकले सामाजिक संजालमा आलोचना गरे । राजनीतिक दलहरुले पनि अस्पतालको सूचनापछि संक्रमितको उपचारबाट सरकार पन्छिन नहुने भन्दै दबाव दिए । त्यही दबाव थेग्न नसकेपछि अस्पतालका निर्देशक डाक्टर डम्बर खड्कालाई मुख्यमन्त्री र सिडिओले हपारेको स्रोतले जनाएको छ ।

‘यस्तो महामारीको समयमा अस्पतालले विरामी लिदैन भनेर हात उठाउनु सही थिएन’ सिडिओ र मुख्यमन्त्रीले अस्पतालका निर्देशक खड्कालाई हपार्दै भने, ‘लडाइँमा गएको सिपाहीले हात खडा गर्न मिल्छ ?’ अस्पतालमा स्रोत साधन जुटाउन समन्वय गर्नुपर्नेमा जिम्मेवार व्यक्तिबाटै गैरजिम्मेवार काम भएको भन्दै सिडिओ र मुख्यमन्त्रीले हपार्नुभयो’ स्रोतले भन्यो, ‘त्यसपछि उहाँले (डाक्टर खड्का) सुचना सच्चाउँछु भन्दै गल्ती स्वीकार गर्नुभयो ।’

सो अवसरमा अस्पतालका निर्देशक खड्काले आफू आत्तिएर यस्तो निर्णय गरेको बताएका थिए । सिडिओ र मुख्यमन्त्रीको निर्देशनपछि मात्र अस्पताल प्रशासन संक्रमितको भर्ना लिन तयार भएको थियो । शुक्रबार विहान बसेको प्रदेश अस्पताल कोरोना नियन्त्रण तथा व्यवस्थापन निर्देशक समितिको बैठकमासमेत अस्पताल प्रशासनले संक्रमितको भर्ना नलिने जानकारी गराएको थिएन । माथिल्लो निकायलाई जानकारी नै नदिएर थप संक्रमितलाई उपचार नगर्ने अस्पतालको निर्णय २४ घण्टा नवित्दै सच्चिन पुगेको छ ।

‘बिरामी भर्ना लिन्नौं भन्दै विज्ञप्ति निकाल्नु गलत’

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले अस्पतालले विरामी भर्ना लिन्न भनेर विज्ञप्ति निकाल्नु गलत भएको बताए । ‘केहीदिन अघि नै अस्पतालमा समस्या छ भन्ने जानकारी आएको थियो, तर उहाँहरुले सेवा नै दिन सक्दैनौं भन्नु भएको थिएन’ प्रजिअ रिजालले भने, ‘एक्कासी सूचना आएपछि मात्रै हामीलाई थाहा भयो ।’

महामारीको समयमा अस्पतालले कुनै पनि वहानामा विरामी भर्ना लिदैन भन्न नपाउने उनको भनाइ छ । ‘अस्पताल पुगेमात्रै विरामीलाई ठूलो राहत हुन्छ, विरामी नआउ भन्दा संक्रमितलाई झन् त्रास बढ्छ’ उनले भने, ‘बरु विकल्प खोज्नुपथ्र्याे, विज्ञप्ति निकाल्नु ठिक थिएन ।’

यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले भर्ना लिदैनौं भनेर सूचना जारी गर्नु गलत भएको बताए । ‘अस्पतालले हौसल्ला दिनुपर्नेमा उल्टै विरामी नै नल्याऊ भन्नु गतल थियो’ काप्रीले भने, ‘आखिर हतारमा गरिएको निर्णयबाट उहाँहरु ब्याक हुनुभयोे ।’

उपचारमा गम्भीर बन्न दलहरुको आग्रह

यसैबीच प्रदेश अस्पताललाई कोरोना संक्रमितको उपचारमा गम्भीर बन्न राजनीतिक दलहरुले आग्रह गरेको छन् । नेपाली काँग्रेस, नेकपा एमाले र एमाले संदीय दलका नेता यामलाल कँडेलले कोरोना संक्रमितको उपचारमा गम्भीर बन्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।

एमाले संसदीय दलका नेता कँडेल, एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटी र नेपाली काँग्रेस सुर्खेत सभापति कमलराज रेग्मीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रले महामारीमा विरामीको उचार गर्न सक्दिन भन्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताएका हुन् ।

प्रदेश अस्पतालले वैशाख ३१ गते अक्सिजनको अभावमा कोभिडका नयाँ विरामीहरुलाई भर्ना लिन नसक्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुले विरामीको उपचार गर्ने आशा र भरोसाको केन्द्र अस्पताललाई स्रोत साधन सम्पन्न गराउन संघ, प्रदेश र स्थानीय सरकारलाई सुझावसमेत दिएका छन् ।

महामारीमा प्रदेश अस्पतालको खेलाँची

भारतमा २४ घण्टामा कोरोनाबाट चार हजार बढीको

महामारीमा प्रदेश अस्पतालको खेलाँची

चीनबाट १८ हजार अक्सिजन सिलिन्डर नेपाल आइपुग्याे

Leave a comment

Your email address will not be published. Required fields are marked *