इजरायलले ध्वस्त बनाइदियो गाजामा एपी र अलजजिराको कार्यालय रहेको १५ तले भवन
एजेन्सी । इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन्।
शनिबार इजरायलले गाजामा रहेको एउटा १५ तले भवनलाई निशाना बनाएर हवाई आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय रहेको उक्त भवनमा किन आक्रमण गरिएको हो पुष्टि भइसकेको छैन ।
इजरायली सेनाले उक्त भवनमा हमासको पनि कार्यालय रहेकाले आक्रमण गरेको जनाएको छ । तर एपी र अलजजिराका पत्रकारहरूले त्यहाँ हमास समूहको कुनै कार्यालय नभएको दाबी गरेका छन् ।
आक्रमण हुनभन्दा पहिला नै भवन छोड्न चेतावनी आएकाले उक्त भवनमा रहेका पत्रकारहरू सुरक्षित रहेको बताइएको छ । अलजजिरा टेलिभिजनले उक्त भवन ढल्दै गरेको लाइभ भिडिओ प्रसारण गरेको थियो ।