कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमः विदेश लागे युवा, गाउँ पुग्यो बजेट

सुर्खेत,३ माघ ।

कोरोना महामारीसँगै कर्णालीका हजारौं युवा गाउँ फर्किए । तीन महिनासम्म पूर्णरुपमा लकडाउन भयो । उद्योग कलकारखानाहरु बन्द भए । स्वदेश तथा विदेशी कम्पनीले कामदार बोलाएनन् । ७० प्रतिशत युवाहरु गाउँ फर्किएपछि कर्णाली प्रदेश सरकारले उनीहरुलाई गाउँमै रोजगारी दिने कार्यक्रम ल्यायो । तर भदौंदेखि लकडाउन खुल्यो ।

विस्तारै उद्योगधन्दाहरु पुरानै लयमा फर्कन थाले । असोज लागिसक्दा पनि मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट गाउँमा पुगेन । अन्ततः दशंै र तिहार मनाएर युवाहरु पुनः विदेशतिर हानिए । मयुवाहरु विदेश पुगेपछि मात्र कर्णाली प्रदेश सरकारले गाउँमा बजेट पठायो । युवाहरु विदेश पुगेपछि मात्रै प्रदेश सरकारले झण्डै तीन अर्ब बजेट गाउँमा पठाएको छ । ‘आफ्नो गाउँ, आत्मनिर्भर बनाऔँ’ भन्ने नारासहित हरेक वडामा तीस लाखका दरले पुग्नेगरी दुई अर्ब ९७ करोड ७१ लाख ५१ हजार रुपैयाँ गाउँमा पु¥याइएको छ ।

युवाहरुलाई गाउँमै रोजागरी दिने उद्देश्यले रोजगारी सिर्जना र संरचना निर्माण गर्न दुई अर्ब ९७ करोड ७१ लाख ५१ हजार रुपैयाँ पालिकाहरुमा पठाएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शाखा अधिकृत एवम मुख्यमन्त्री रोजगार कार्यक्रम संयोजक सर्वदल शाहीले जनाए । जसमा चालु खर्चतर्फ एकअर्ब ४० करोड एकलाख १८ हजार र पूँजीगततर्फ एक अर्ब ५७ करोड सत्तरी लाख तेत्तीस हजार रुपैयाँ जिल्लामा पठाइएको हो । उक्त रकमले गाउँमा रोजगारीका अवसरहरु सिर्जना गर्न, बेरोजगार र कोरोनाका कारण रोजगार गुमाएका व्यक्तिको जीविकोपार्जनमा सुधार गर्न, गरिबी निवारणमा योगदान पु¥याउने सरकारको अपेक्षा छ ।

कहाँ खर्च हुन्छ तीन अर्ब ?

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि प्रदेश सरकारले कार्यविधि निर्माण गरी पालिकाहरुमा पठाएको छ । कार्यविधिअनुसार कृषि पूर्वाधारलाई पहिलो प्राथमिकता दिइएको छ । त्यस्तै भौतिक पूर्वाधारतर्फ सडक, खानेपानी, पोखरी तथा जलाशय, सिँचाइ तथा नदी नियन्त्रणलाई दोस्रो प्राथमिकतामा राखिएको छ । त्यस्तै सामुदायिक फलफूल तथा जडिवुटी खेती र वृक्षारोपणलाई जस्ता कार्यक्रम तथा योजनाहरुलाई तेस्रो प्राथमिकतामा राखेर योजना छनौट गरिएको छ । त्यस्तै रोजगार कार्यक्रमका लागि शिक्षा, स्वास्थ्य र खेलकुद पूर्वाधार, लघु जलविद्युत विकास, लघुउद्यम तथा उद्यमशिलता विकास, पर्यटन पूर्वाधार जस्ता योजनाहरु छन् । त्यस्तै सोही कार्यक्रमबाट गत आर्थिक वर्षमा सञ्चालित मुख्यमन्त्री रोजगार कार्यक्रमका अधुरा आयोजना पुरा गरिने छ । योजना कार्यान्वयन गरेर बेरोजगार नागरिकलार्य कम्तीमा एक सय दिनको रोजगारी र आत्मनिर्भर गाउँ बनाउन सरकारको योजना छ ।

कुन पालिकामा कति बजेट ?

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ४४ करोड २१ लाख १२ हजार रुपैयाँ पठाएको छ । जसमध्ये सिम्ता गाउँपालिकामा तीन करोड ८२ लाख ३१ हजार, चिंगाड गाउँपालिकामा दुई करोड ५५ लाख चार हजार, लेकबेशी नगरपालिकामा चार करोड ३० लाख ७१ हजार, गुर्भाकोट नगरपालिकामा ६ करोड आठ लाख तीन हजार, भेरीगंगा नगरपालिकामा पाँच करोड ६७ लाख ४६ हजार, वीरेन्द्रनगर नगरपालिकामा आठ करोड ६९ लाख ८० हजार, बराहताल गाउँपालिकामा चार करोड ७६ लाख तीन हजार, पञ्चपुरी नगरपालिकामा चार करोड ६९ लाख ६८ हजार र चौकुने गाउँपालिकामा चार करोड २० लाख ४६ हजार रुपैयाँ पठाइएको छ । यस्तै दैलेखमा ३९ करोड ६३ लाख ३४ हजार रुपैयाँ पठाइएको छ । जसमा भैरवी गाउँपालिकामा तीन करोड ११ लाख ७० हजार, नौमुलेमा तीन करोड ४२ लाख ६० हजार, महावुमा दुई करोड ७१ लाख ४१ हजार, ठाँटीकाँध गाउँपालिकामा दुई करोड ७५ लाख १३ हजार, आठबीस नगरपालिकामा चार करोड आठ लाख ३४ हजार, चामुण्डाविन्द्रासैनी नगरपालिकामा चार करोड चार लाख ६ हजार, दुल्लु नगरपालिकामा पाँचकरोड ८७ लाख १६ हजार, नारायण नगरपालिकामा चार करोड ५५ लाख ३७ हजार, भगवतीमाई गाउँपालिकामा तीन करोड दुई लाख पाँच हजार, डुंगेश्वर गाउँपालिकामा दुई करोड ५८ लाख सात हजार र गुराँस गाउँपालिकामा तीन करोड ४७ लाख ४५ हजार रुपैयाँ पठाइएको छ ।

सल्यानमा ३५ करोड ६१ लाख ८२ हजार रुपैयाँ पठाएको छ । जसमध्ये दार्मा गाउँपालिकामा दुई करोड ६९ लाख ११ हजार, कुमाख गाउँपालिकामा तीन करोड बीस लाख १४ हजार, बनगाडकुपिण्डे नगरपालिकामा पाँच करोड २३ लाख ९२ हजार, सिद्धकुमाख गाउँपालिकामा दुई करोड १३ लाख चारहजार, बागचौर नगरपालिका पाँच करोड ६ लाख ३९ हजार, छत्रेश्वरी गाउँपालिकामा तीन करोड सातलाख १८ हजार, शारदा नगरपालिकामा ६ करोड १६ हजार, कालिमाटी गाउँपालिकामा तीनकरोड १२ लाख ८९ हजार, त्रिवेणी गाउँपालिकामा दुई करोड ५१ लाख ५९ हजार र कपुरकोट गाउँपालिकामा दुइकरोड ५७ लाख ४० हजार रुपैयाँ पठाइएको छ । त्यसैगरी कालिकोटमा ३३ करोड ८० लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै रुकुमपश्चिममा २९ करोड ६० लाख ७९ हजार र जुम्लामा २४ करोड ७३ लाख १२ हजार पठाएको छ । त्यस्तै मुगुमा १७ करोड ४३ लाख ९६ हजार, हुम्लामा १७ करोड पाँच लाख १८ हजार रुपैयाँ र जाजरकोटको बारेकाट गाउँपालिकामा तीनकरोड ७३ लाख ५७ हजार, कुशे गाउँपालिकामा तीनकरोड ८३ लाख ७२ हजार, जुनीचाँदे गाउँपालिकामा चारकरोड ५५ लाख ११ हजार, छेडागाड नगरपालिकामा पाँच करोड ७६ लाख ३१ हजार, शिवालय गाउँपालिकामा तीन करोड ६२ लाख ३२ हजार, भेरी नगरपालिकामा पाँच करोड ४६ लाख ६० हजार र नलगाड नगरपालिकामा पाँच करोड ३७ लाख ४९ हजार रुपैयाँ पठाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *