प्रदेश रंगशाला बनाउन सम्झौता

सुर्खेत । युस कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ । यसका लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार सम्झौता भएको छ ।
प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको आइतबारदेखि सुरु भएको हो । काठमाडौंको कान्तिपथमा रहेको निर्माण कम्पनी एमएसीजीले रंगशाला निर्माणको ठेक्का लिएको छ । २०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न गर्नेगरी काम अगाडि बढाईने परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले बताए । रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाईने छ भने आठ लेनको सेन्थेटीक एथलेटिक्स ट्रयाक बनाईनेछ ।
१० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भिआइपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिनेछ ।
रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेलहरू खेल्न मिल्ने परिषद्ले जनाएको छ ।





