प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने ओलीले स्वीकारिसके: रामचन्द्र पौडेल

काठमाडौं, २ माघ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिसकेको दाबी गरेका छन्।

वैधानिक काम गरेको छैन भन्ने कुरा ओलीले स्वीकार गरेको भन्दै उनले प्रतिनिधि सभा विघटनविरूद्ध सशक्त संघर्षमा उत्रन नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।
‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं,’ शुक्रबार भिडिओ अपिल जारी गरेका पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन्- यो विधि विधानको कुरा होइन। यो त राजनीतिक निर्णय हो। उनले आफूले वैधानिक काम गरेको छैन भन्ने कुरा आफैँले स्वीकार गरेका छन्।’
‘जनताले विरोधमा आवाज उठाउन सके अदालतमा पुग्छ। ओलीको कदम समयमै सच्याउनुपर्छ। नसच्चिँदा अनर्थ हुन्छ,’ उनले भने, ‘कम्मर कसेर सक्रियापूर्वक स्थानीय तहहरूबाट सशक्त आवाज उठाऔं।’ प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।






