पत्रकार थापा कुटपिटमा संलग्नलाई कारवाहीको माग
सुर्खेत, २४ माघ ।
पत्रकार शेर बहादुर थापामाथी भएको आक्रमणको विरोध गरिएको छ । प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति सुर्खेतले विज्ञप्ति जारी गर्दै श्रमजिवि पत्रकार पेशागत दायित्व, जिम्मेवारी निर्वाहका क्रममा सांघातिक आक्रमण हुन निन्दनिय भएको भन्दै दोषिमाथी कडाभन्दा कडा कारवाहीको माग गरिएको छ ।
प्रेस संगठन नेपाल जिल्ला समिति सुर्खेतका संयोजक धर्मराज जिसीले एक विज्ञप्ति जारी गर्दै कानूनी राज्यमा पत्रकारमाथी नै जनप्रतिनीधिका आफ्न्तबाट असुरक्षित हुनु दुखद्, लाजमर्दो र घृणित, निन्दनीय कायई भएको भन्दै दोषिमाथी कडाभन्दा कडा कारवाहीको माग गरिएको छ । पत्रकार थापा नेपाल प्रेस डट कम कर्णाली प्रदेश प्रतिनीधि, संसदीय मामिला पत्रकार समाज कर्णालीका अध्यक्ष तथा प्रेस संगठन नेपाल सुर्खेत कार्यसमिति सदस्य हुनुहुन्छ ।
समाचार संकलनका लागि दैलेखको महावु गाउँपालिका पुगेका पत्रकार शेरबहादुर थापालाई गाउँपालिकाका उपाध्यक्षका छोराले हातपात गरेका छन् । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाका छोरा ध्रुव बुढाले पत्रकार थापालाई शुक्रबार साँझ कुटपिट गरेका थिए । महावु गाउँपालिका ५ गैडाबाजमा रिपोर्टिङका लागि गएका पत्रकार थापा माथि बुढाले हातपात गरेका पुष्टि प्रहरी चौकी गैडाबाजले गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको र कुटपिट गर्ने बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।