पश्चिममा टेलिफोन सेवा सहज बनाउन माओवादी केन्द्रको ध्यानाकर्षण

सुर्खेत, १९ मंसिर : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पञ्चपुरी नगर कमिटीले सुर्खेतको पश्चिम क्षेत्रमा टेलिफोन सेवा सहज बनाउन नेपाल टेलिकम सुर्खेतलाई ध्यानाकर्षण गराएको छ । कमजोर प्रविधिका कारण पञ्चपुरी लगायतका क्षेत्रमा टेलिफोन नेटवर्क देखाउने तर बारम्बार फोन गर्दा पनि सम्पर्क नहुने, सम्पर्क भएको खण्डमा कुराकानी नबुझिने जस्ता समस्या देखिएको भन्दै तत्काल समाधान गर्न ध्यानाकर्षण गराइएको हो ।
नगर कमिटी अध्यक्ष केशव शाही लगायतको टोलीले आइतबार नेपाल टेलिकमलाई ध्यानाकर्षण गराएका हुन् । टोलीले तत्काल जनशक्ति, प्रविधि, टोवर र सोलार प्यानलको क्षमता बृद्धि गरी टेलिफोन सेवालाई सहज बनाउन ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षणलाई गम्भिरतापूर्वक नलिई वेवास्था गरिएको खण्डमा सशक्त आन्दोलन गर्न बाध्य हुने अध्यक्ष शाहीले बताए ।
‘नयाँ प्रविधि, जनशक्ति, टाव र सोलार प्यानलको क्षमता अभिबृद्धि, विस्तार र विकास नहुँदा टावर देखाउने तर सम्पर्क हुन नसक्ने, सम्पर्क भए पनि कुरा नबुझिने, अति आवश्यक कामको लागि पटक–पटक सम्पर्क हुन नसक्ने तर रुपैयाँ काट्ने र पछिल्लो समय फोरजी सेवाको विस्तारको नाममा झनै गरिव जनातको ढाड सेकी बैधानिक लुटपान गरेको छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ । ध्यानाकर्षण पत्र कर्णाली प्रदेश सरकार र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोदार्थ पठाइएको छ ।








