वर्तमान संविधान निर्माण गर्नेहरूले ‘एक्सक्युज’ भन्नुपर्छ : प्रभु साह

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान निर्माण गर्ने नेताहरुले माफी माग्नुपर्ने बताएका छन् ।
शुक्रबार बिहान सञ्चारकर्मीहरुसँगको भेटघाटमा नेता साहले राजनीतिक दल र नेताहरुको दूरदर्शीता अभाव र भागवण्डाको आधारमा निर्माण भएको वर्तमान संविधानमा रहेका गलत प्रावधानहरुको कारण देशले अहिले दुर्दशा भोग्नुपरिरहेको बताए ।
प्रमुख राजनीतिक दलहरुले आआफ्नो हिस्साको व्यवस्था मिसाएर बनाएको खिचडी संविधान ५ वर्षमै नेताहरुलाई मुठभेडको अवस्थामा पुर्याउनु संविधान गलत रहेको प्रमाणित भएको नेता साहको भनाइ छ। संविधान निर्माण नेताहरुले जनतासामु उभिएर माफी माग्दै अग्रगामी एवम् परिवर्तनकारीहरुलाई संविधान निर्माणको जिम्मा सुम्पिनुपर्ने उनको तर्क छ ।
‘संवैधानिक प्रावधानको बुझाइको विषयमा देश अन्योलग्रस्त छ, विवादित र विभाजित छ। प्रमुख राजनीतिक पार्टीहरु नै एकअर्कामाथि आरोप-प्रत्यारोपमा उत्रेका छन्। जनस्तरमै अस्वभाविक मुठभेडको स्थिति सिर्जना हुँदै छ ।
यतिसम्म न्यायिक निरुपणको कामभन्दा बढी संवैधानिक स्पष्टता खोज्न हैरान भएको न्यायालय समेत विवादित र विभाजित बन्दै छ,’ नेता साहले भने, ‘आखिर किन एक मतले संविधान बनाएका नेताहरु नै आफैंले लेखेको प्रावधानमा विभाजित हुँदै ५ वर्ष पनि नपुग्दै संविधानको प्रत्यक्ष नेतृत्व गरेको नेताहरुमा विपरीत बुझाइ देखापर्नुलाई के सामान्य रुपमा लिन मिल्छ ? कदापि यसलाई सही र सामान्य मान्न सकिँदैन।’






