काँग्रेससँगको पूर्वसहमति बमोजिम मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका शाहीले सोमबार साँझ पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । सत्ता साझेदार काँग्रेससँगको पूर्वसहमति अनुसार उनले राजीनामा दिएका हुन् ।
उनको राजीनामासँगै अब काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका हुन् । यसअघि नेकपा विभाजनसँगै मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । तर गत बैशाखमा काँग्रेस र एमालेका चार सांसदले फ्लोरक्रस गरेर विश्वासको मत दिएपछि उनको पद जोगिएको थियो । त्यसबेलामा मुख्यमन्त्री शाहीले काँग्रेसलाई ६ महिनाभित्र सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति गरेका थिए ।

त्यही सहमति कार्यान्वयन गर्न आफूले पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गरेको मुख्यमन्त्री शाहीले बताए । केन्द्रको सत्ता गठबन्धनलाई निरन्तरता दिदैं प्रदेशमा पनि सहकार्य कायमै राख्न सत्ता हस्तान्तरण गरिएको माओवादीले जनाएको छ । कर्णाली प्रदेश सभामा हाल ३५ जना सांसद छन् । जसमा माओवादीका १२, काँग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका तीन जना सांसद छन् । गत बैशाख यता यी तीन दलले प्रदेशमा सरकार संचालन गरिरहेका थिए ।

यस्तै एमालेका सभामुखसहित १५ जना र राप्रपाकाएक सांसद छन् । माओवादी, काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट अब काँग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने बताइएको छ । यसअघि काँग्रेस र माओवादीबिच सत्ता हस्तान्तरणको विषयमा रस्साकस्सी भएको थियो । तर वर्तमान गठबन्धन जोगाउन र इमान्दारिताको राजजीति गर्न आफूले सत्ता हस्तान्तरणका लागि बाटो खोलेको मुख्यमन्त्री शाहीले बताए ।

मुख्यमन्त्रीको राजीनामासँगै काँग्रेस नेता शाही मुख्यमन्त्री बन्ने काँग्रेसले जनाएको छ । अब दलहरुबीच मन्त्रालय भागवण्डामा रस्साकस्सी हुने देखिएको छ । एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गर्ने निर्णय गरिसकेको छ । आठ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले मुख्यमन्त्री त्यागिएकाले चार वटा मन्त्रालय पाउनुपर्ने अडान लिएको छ ।
तर काँग्रेसले पनि मुख्यमन्त्रीमा मात्र चित्त बुझाउने अवस्था छैन ।

उसले पनि केही मन्त्रालयमा दाबी गर्ने देखिन्छ । माओवादी नेता महेन्द्रबहादुर शाही २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए। तर नेकपा विभाजनसँगै जोखिममा परेको उनको पद काँग्रेस र माधव नेपाल निकट सांसदहरुले जोगाइदिएका थिए । राजीनामा घोषणा गर्दै मुख्यमन्त्री शाहीले भने,‘इमानको राजनीति गर्न र सत्ता गठबन्धनलाई जोगाउन मैले मार्ग प्रसस्त गरेको हुँ, पूर्वसहमति अनुसार सरकारको नेतृत्व काँग्रेसलाई हस्तान्तरण गरेको जानकारी गराउँछु।

कर्णालीको विकासका लागि हामी मिलेर काम गर्नेछौं ।’ साथै उनले आफ्नो कार्यकालमा कर्णालीका कानुनी र संरचनागत जग हाल्ने काम गरेको र सरकार सफल भएको बताए । तीन बर्ष आठ महिना सरकार चलाएका शाहीले सोमबार साँझ नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष राजीनामा बुझाएका छन् ।

काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्वमात्र परिवर्तन हुने भन्दै सरकार गठबन्धनले नै संचालन गर्ने बताए । साथै उनले विगतको सरकारले गरेका राम्रा कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिक्रिया दिए ।

काँग्रेससँगको पूर्वसहमति बमोजिम मुख्यमन्त्री शाहीले दिए राजीनामा

गुरबाज विश्वकपका कान्छा खेलाडी

काँग्रेससँगको पूर्वसहमति बमोजिम मुख्यमन्त्री शाहीले दिए राजीनामा

YUGAAWHAN NATIONAL DAILY (2078-7-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *